वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको संख्यामा वृद्धि भएसँगै नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) आप्रवाह पनि क्रमशः बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ चैत महिनामा मात्रै ९३ अर्ब ५५ रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुनमा मात्रै ९१ अर्ब ९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएकोमा पछिल्लो महिना चालु आवको करोड लाख रुपैयाँले बढेको हो । चालु आवको ९ महिनासम्ममा नेपाल भित्रने कुल रेमिट्यान्स रकम ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैत मसान्तसम्ममा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९० प्रतिशतले घटेको थियो ।
मासिक भित्रने रेमिट्यान्स बढेपनि अघिल्लो आवको यसै अवधिको तुलनामा चालु आवको चैत मसान्तसम्ममा भित्रिएको कुल रेमिट्यान्स रकममा भने कमी आएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष २०७८ चैतसम्ममा २०७७ चैतको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।
२०७८ चैत मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको ९ महिना अवधिमा २ लाख ५६ हजार ०३१ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९० प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २ लाख ०६ हजार ६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८ खर्ब ०८ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १४.४ प्रतिशतले बढेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया