यो साता नेप्से १६६ अंकले बढ्यो, कुन कम्पनीका लगानीकर्ता भए मालामाल ?

0
Shares

निरन्तर घटिरहेको सेयर बजारका लगानीकर्ताका लागि यो साता सुखद रह्यो । सेयर बजार यस साता ८.९५ प्रतिशतले बढेको छ । गत साता १८६२।०६ विन्दुमा बन्द भएको नेप्से सूचक १६६.७१ अंकले बढेर साताको अन्त्यमा २०२८.७७ बिन्दुमा पुगेको हो ।

अघिल्लो पटकको १८८१ बिन्द्का बुलभन्दा तल झरेको बजारमा प्यानिक भएका लगानीकर्तालाई बजारमा आएको सुधारले ठूलो आत्मबल बढाएको छ ।

साताका ६ कारोबार दिनमध्ये ३ कारोबार दिन बजारमा उत्साह छाएको थियो। साताको पहिलो कारोबार दिन नै नेप्से उच्च अंकले बढेसँगै बजारप्रति लगानीकर्ता उत्साहित भएका हुन् ।

नेप्से बढेसँगै यो साता बजार पुँजीकरणमा समेत उल्लेख्य सुधार भउको छ । गत साता २६ खर्ब ५४ अर्ब ८० करोड रुपैयाँ रहेको बजार पुँजीकरण बढेर २८ खर्ब ९२ अर्ब ५० करोड रुपैयाँ पुगेको हो । एक सातामा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति २ खर्ब ३७ अर्ब ७० करोड रुपैयाँले वृद्धि भएको हो ।

लाभांश सिजनमा सस्तो सेयर उठाउन पाएपछि यसअघि सेयर बिक्री गरेर नगद मौज्दात लिएर बसेका लगानीकर्ताहरुले पनि यसै सातादेखि बजारमा लगानी गर्न थालेका हुन् । जसले बजार बढेसँगै कारोबार पनि सुधारिएको हो । शुक्रबार दुई घण्टा कारोबारमा नै १ अर्ब ४५ करोड रुपैयाँ बढीको सेयर कारोबार भयोभ ने बिहीबार साताकै उच्च २ अर्ब ४५ करोड माथि कारोबार रकम पुगेको छ । मंगलबार १ अर्ब ५ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । गत साता दैनिक औसतमा १ अर्ब ३९ करोडको सेयर कारोबार भएकोमा यो सात १ अर्ब ९४ करोडको सेयर कारोबारमा आएको छ ।

यस साता सूचीकृत सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ब्यापार समूह २१.३४ प्रतिशतले बढेको छ । यस्तै फाइनान्स १६.०९, लगानी १३.५१, अन्य १२.६८, विकास बैंक १२.६७, उत्पादनमुलक ११.८७, लघुवित्त ११.८२, जलविद्युत ११.६६, जीवन बीमा १०.७८ र होटल उपसमुहगत सूचकमा १०.१६ प्रतिशतको बढोत्तरी देखिएको छ । निर्जीवन बीमा, म्युचुअल फण्ड र बैंकिङ्ग क्रमशः ९.४१,६.८५ र ४.१५ प्रतिशतले बढेको छ ।

सीवाईसीका लागानीकर्ता मालामाल

यो साता सीवाईसी नेपाल लघुवित्तको आईपीओ परेका लगानीकर्ताहरु मालामाल भएका छन् । लघुवित्तको सेयरको भाउ सबैभन्दा धेरै ७७.१० प्रतिशतले बढेको हो । आइतबार ६५५ मा कारोबार खुलेको लघुवित्तको सेयरमूल्य ५०५ रुपैयाँ बढेर ११६० रुपैयाँ पुगेको हो । लघुवित्तको सेयर तल्लो रेञ्जबाट खुला भएका कारण हालसम्म १५ कारोबार दिन निरन्तर वृद्धि हुँदै आइरहेको छ ।

त्यसपछि, आँधिखोला लघुवित्त ३८.१९ प्रतिशत बढेर १२२३ तथा र नेपाल पुनर्बिमा कम्पनीको ३३.७२ प्रतिशतले बढेर ८०५ रुपैयाँ पुगेको छ । न्यादी हाइड्रोपावरको सेयरमूल्य ३०.०८ प्रतिशत बढेर ३५५ रुपैयाँ पुग्दा नेपाल फाइनान्सको सेयरमूल्य पनि २७.७१ प्रतिशत बढेर २९५ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

यो साताो कारोबारमा गुराँस लघुवित्तको सेयरधनीमा निराशा छाएको छ । अधिकांश कम्पनीके सेयरको भाउमा भएको वृद्धि हेरिरहँदा लघुवित्रको सेयरमूल्य भने सातामा ४.९८ प्रतिशत घटेर ९९३ मा झरेको हो । यस्तै लक्ष्मी बैंकको सेयरको भाउ पनि १.५० प्रतिशतले घटेर १९७ मा झरेको छ । लुम्बिनी जनरल इन्स्यारेन्सको भाउ ०.७७ प्रतिशत घटेको छ ।

नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी गरेको छ । त्यसैले अहिले लगानीकर्ताहरु बजारमैत्री मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । मौद्रिक नीति लगानीकर्ताको अनुकुल आए बजार थप बुलिस हुनेछ भने विद्यमान सेयर धितोकर्जामा लागू ४–१२ करोडको एकल कर्जा सीमा तथा औसत भारित मूल्याङ्कन १५० मा सम्बोधन नभई केन्द्रीय बैंकले थप कडाईका साथ मौद्रिक नीति सार्वजनिक गरेको खण्डमा भने बजार थप प्यानिक समेत बन्नसक्ने देखिन्छ । यद्यपी राष्ट्र बैंकका गभर्नर अहिले चौतर्फी दबाबमा रहेका कारण सेयर बजारमैत्री मौद्रिक नीति आउने आंकलन आम लगानीकर्तामा छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ असार २०७९, शनिबार  १८ : ४७ बजे