
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा देखिएको संकट हल गर्ने भन्दा पनि सरकारले तमासा हेरेर बसेकाले कतै श्रीलंका नै बन्ने हो की भन्ने मनोवैज्ञानिक त्रास बढेको बताएका छन् ।
शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष २०७९/८० को बजेट विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री खतिवडाले नेपालको अवस्था श्रीलंकाकै जस्तो नभए पनि सरकारले सुधारको लक्षण नदेखाउँदा थप चिन्ता बढेको बताए । निर्माण सामग्री, पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर, यातायात ढुवानी भाडा समेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौती थपिँदै जाने उनले बताए ।
नेपालको अर्थतन्त्रको अवस्था वास्तवमै राम्रो नभएको भन्दै खतिवडाले बोल्ने भन्दा पनि संयमता अपनाउन आवश्यक रहेको उल्लेख गरे । सरकारले बजेटमा मनमा आएका सबै कुराहरु राखेको उनको आरोप छ । असम्भव र नमिल्दा कुराहरु राखेर बजेट लोकप्रिय बनाउन खोजेको उनको भनाई छ ।
बजेट मार्फत लिइएको ८ प्रतिशतको आर्थिक वृद्धि र मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्न तथा पाँच वर्षमा व्यापार सन्तुलन कायम गरेर देखाउन उनले सरकारलाई चुनौती दिए । आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जानेबित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको उनले बताए ।
डा. खतिवडाले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधानान्तर घाटा बढ्ने र शोधानान्तर घाटा हुँदा पुनःअर्थतन्त्र भयावह हुने भन्दै सरकार अहिले त्यही बिन्दुमा रहेको जिकिर गरे । आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने बाह्य क्षेत्र असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै उनले सरकारले यो कुरामा हेक्का राख्नुपर्ने बताए ।
कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकहरुमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको बताउँदै उनले मुलुकमा ११० प्रतिशतसम्म कर्जा विस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताए । पूर्वमन्त्री खतिवडाले तरलता समस्या विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान र गृह मन्त्रालयले अध्ययन गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बाह्य क्षेत्र, मूल्य वृद्धि र बैंक तथा वित्तीय संस्थाको व्याजदर वृद्धिले अर्थतन्त्रमा समस्या सृजना गरेको भन्दै अर्थतन्त्रमा देखिएको संकट तत्काल हल हुने सम्भावना नरहेको प्रष्ट पारे ।
अर्थशास्त्रीहरु डा. गोविन्द नेपाल र डा. दिलनाथ दंगालले वित्तीय क्षेत्र, मौद्रिक क्षेत्र, बाह्य क्षेत्र र आर्थिक वृद्धि एकै पटक चार क्षेत्र ओरालो लाग्नु गम्भीर भए पनि सुधारका लागि सरकार खासै गम्भीर नबनेको आरोप लगाए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया