
नेपाल धितोपत्र बोर्डले बजारले चित्त बुझाउने गरी धितोपत्र दलाल कम्पनीको संख्या थपको प्रस्ताव गर्ने भन्दै आएको छ । धितोपत्र ब्रोकरको नियमन तथा सुपरिवेक्षणको सन्दर्भमा बोर्डको संस्थागत क्षमता कमजोर भएको अवस्थामा समेत नियमन गर्ने संस्थाको संख्या बढाउन खोजेको हो ।
धितोपत्र बजारमा सेयर खरिद बिक्री गराउने ब्रोकरको संख्या ५० रहेको छ । बोर्डले यी ५० कम्पनीको नियमन तथा सुपरिवेक्षण पनि जनशक्ति अभाव भन्दै वार्षिक १० देखि १२ कम्पनीको मात्र गर्ने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा धितोपत्र बोर्डले १० कम्पनी छनोट गरी ५ को मात्र सुपरिवेक्षण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३ धितोपत्र दलाल कम्पनीको मात्र सुपरिवेक्षण गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा १० वटा धितोपत्र दलाल कम्पनीको स्थलगत सुपरिवेक्षण गरेको छ ।
बोर्डले नियमीत रुपमा आफु मातहतका संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गर्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए । “धितोपत्र बोर्डको संस्थागत क्षमता कमजोर भएका कारण पनि आवश्यकता अनुसार नियमन तथा सुपरिवेक्षण गर्न सकिएको छैन्,” ती अधिकारीले भने,“सबै धितोपत्र दलाल कम्पनीको विस्तृत अनुगमनका लागि बोर्डमा रहेका हालका जनशक्तीले सक्ने अवस्था नै छैन ।” धितोपत्र बजारको नियामक निकायको संस्थागत क्षमता कमजोर भएका कारणले पनि पुँजी बजारका गलत अभ्यास निरुत्साहित नभएको उनको तर्क छ ।
धितोपत्र बोर्डले हाल भएका ५० धितोपत्र दलाल मध्ये अधिकतम १० को मात्र सुपरिवेक्षण गरेको अवस्था छ । आगामी दिनमा धितोपत्र दलाल कम्पनीको संख्या वृद्धि गरेको खण्डमा पुँजी बजारमा झनै चलखेल बढ्ने तथा गलत क्रियाकलापले प्रस्रय पाउने निश्चित छ ।
धितोपत्र दलाल कम्पनीको संख्या वृद्धि गर्नु भन्दा अघि धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धी तथा हालका धितोपत्र दलाल कम्पनीको स्तारोन्नती र कार्यक्षेत्र विस्तार गर्न भनेर व्यवस्थापिका संसदको अर्थसमितिले सिफारीस पनि गरिसकेको छ । बोर्ड अर्थसमितिले दिएको २०७७ असारको सिफारीसलाई समेत बेवास्था गर्दै नयाँ धितोपत्र दलाल कम्पनीको संख्या त्यो पनि बजारलाई चित्त बुझ्ने प्रस्तावका आधारमा थप्ने भन्दै आवश्यक तयारी अघि बढाएको छ ।
अर्थ समितिले २०७६ मा उप समिति गठन गरी पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गराएको थियो । सो अध्ययन प्रतिवेदन अनुसार समितिले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई सिफारीस पनि गरेको थियो । समितिले धितोपत्र दलाल कम्पनीलाई स्टक डिलरसीप, एडभाइजरी तथा प्रोप्राइटरीको काम गर्न दिन सिफारीस समेत गरेको थियो । तर, धितोपत्र बोर्डले सो सिफारीस पछि पनि आफ्नो संस्थागत क्षमता अभिवृद्धि गरेन । त्यतीमात्र नभई धितोपत्र ब्रोकरका कार्यकक्ष विस्तार पनि गराउन सकेन ।
समितिले सिफारीस गरेका स्टक डीलर सीप, प्रोप्राइटरी टे«डिङ तथा एडभाइजरीको काम धितोपत्र दलाल कम्पनीलाई दिन नसकेको धितोपत्र बोर्डका अर्का उच्च अधिकारीले जानकारी दिए । त्यतीमात्र नभई धितोपत्र दलाल कम्पनीको स्तरोन्नती गर्ने काममा समेत बोर्डले काम गर्न नसकेको ती अधिकारीले स्विकार गरे । उनले धितोपत्र बोर्डको बचाउ गर्दै ब्रोकर कम्पनीलाई दिने भनिएका कामको सन्दर्भमा बोर्डले अध्ययन तथा सुझाव संकलन गरीरहेको बताए ।
धितोपत्र दलाल कम्पनीमा हुने गरेको बेथितीको सन्दर्भमा उनले भने,“ब्रोकरको नियमन सुपरिवेक्षण गर्न जनशक्तीको कमी छ, ब्रोकरले गरेका कारोबारको सन्र्दभमा कानुनी कागजातको कमी नभएपनि कारबाही गर्न मिल्ने अवस्था हुदैन ।” धितोपत्र दलाल कम्पनी आफैले कारोबार गरेर धितोपत्र बजारलाई चलाउने कामलाई नियन्त्रण गर्न प्रोप्राइटरी टे«डिङको काम दिने भनिएको समेत उनले बताए ।
समितिले धितोपत्र दलाल कम्पनीको क्षमता विस्तार गर्न सिफारिस गरेको थियो । समितिले हाल न्यूनतम दुई करोड चुक्ता पूँजी रहेका धितोपत्र दलाल व्यवसायीहरुको पूँजी वृद्धि गरी २०७९ असार मसान्त सम्म १० करोड बनाउनु भनेको थियो । तर, धितोपत्र बोर्डले तोकिएको समय सकिएपछि नयाँ धितोपत्र दलाल कम्पनी थप्ने गृहकार्य सुरु गर्ने क्रममा बल्ल पुँजी वृद्धिको विषयलाइ छलफलमा ल्याएको छ । बोर्डको पहलले भन्दापनि केही ब्रोकर आफैले पब्लिक कम्पनीमा रुपान्तरण गरिसकेका छन।
त्यसका साथै समितिले सिफारीस गर्दा धितोपत्र दलाल व्यवसायीहरुलाई समग्र वित्तीय प्रणाली र विशेष गरी धितोपत्र कारोवार सम्बन्धमा तोकिएको विशिष्ट पाठयक्रममा आधारित जाँच लिई अनुमति पत्र दिने भनेको छ । तर, पछिल्लो समयमा अर्थमन्त्रीको मौखिक निर्देशनमा परिक्षा नलिने विषयमा नेपाल स्टक एक्सचेन्जको सञ्चालक समिति करिब निर्णयमा पुगिसकेको अवस्था छ ।
अर्थ समितिको निर्देशन विपरित गएर बोर्डले नयाँ ब्रोकर थप्ने गृहकार्य थालेको दखिन्छ । हाल भएका धितापत्र ब्रोकरलाई समेत नियमन र सुपरिवेक्षण गर्न नसकेको बोर्डले आफुलाई समेत सुधार नगरी नियमन गर्ने संख्या बढाउने समग्र पुँजी बजारका लागि सकारात्मक होइन । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको नेतृत्वमा परिवर्तन भएसंगै धितोपत्र दलाल कम्पनीको थप गर्ने पहल विगत देखि नै हुने गरेको छ । यस सन्दर्भमा नेप्सेका यसभन्दा अघिका प्रमूख कार्यकारी अधिकृतले त अध्ययन नै पनि गराएका थिए । विभिन्न कारणले उनीहरुले आफ्नो कार्यकाल भरी ब्रोकर संख्या थप गर्ने योजना कार्यान्वयन गर्न नसकी बाहिरीनु प्रयो ।
अहिले पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको नेतृत्वमा नयाँ व्यक्ति आएसंगै सिमित व्यक्ति तथा समुहको स्वार्थ पुरा गर्नका लागि ब्रोकर संख्या थप गर्ने गृहकार्य सुरु भएको छ । यसमा धितोपत्र बजारको अवस्था, आकार तथा व्यवसायीक सम्भाव्यतालाई नहेरी नयाँ धितोपत्र दलाल कम्पनीहरु इजाजत दिनु बजारको हितमा नहुन पनिसक्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया