नेप्सेमा सृजित कृतिम वृद्धि टिकेन, नेप्से ४६ अंकले घट्दा सूचक २०३० बिन्दुमा झर्‍यो

0
Shares

सेयर बजारमा पछिल्लो समय आएको वृद्धि टिकाउ देखिएको छैन । गत बुधबार र बिहीबार उच्च वृद्धि भएको बजार शुक्रबार घटेपछि आइतबार पुनः उच्च अंकको वउद्धि भएको थियो ।

प्रयाप्त आधार बिना पछिल्लो तीन दिनमा १७४ अंकले बढेको बजार सोमबार ९.७५ अंकले घटेकोमा मंगलबार थप ४६ अंकले घटेको हो ।

सेयर बजारका टाठा लगानीकर्ताहरुले लगातार उच्च अंकले सेयर बजारमा कृतिम वृद्धि गरेर एकातिर मार्जिक कलबाट मुक्त भएका छन् भने अर्कोतर्फ असार मसान्तमा थपिएको निक्षेप वृद्धिलाई देखिएर अब बजार बढ्ने हल्ला फिँजाएर असार मसान्तमा आफूले तिर्ने बैंकको ऋणको साँवा तथा ब्याजको रकम जोहो गरेका छन् ।

बजारमा आएको उच्च अंक वृद्धिले लगानीकर्ता बजार बढ्ने आशामा बजारमा सेयर खरिद गर्दै जाँदा ठूला लगानीकर्ताहरुले भने सेयरमूल्य बढाएर सेयर बिक्री गरेर बाहिरिएका छन् । जसले दैनिक कारोबार वृद्धि हुँदै गएको थियो । दैनिक एक अर्बको हाराहारीमा कारोबार हुँदै आएको बजारमा दुई अर्ब हुँदै सोमबार करिब साँढे चार अर्बको सेयर कारोबार भयो । सोमबार ६२ अंकले बढेको बजार बन्द हुँदा १० अंकले घट्नुले सोमबार नै बढेको बजारमा सेयर बिक्री गरेर लगानीकतर्थाले ऋणको साँवा तथा ब्याज भुक्तानी गरेका हुन् ।

चालु आवको समाप्ती नजिकिएकाले बैंक तथा वित्तीय संस्थाले ऋण असुली तीव्र बनाएका छन् भने सरकारी खातामा जम्मा गर्नुपर्ने राजश्व तिर्न समेत अहिले व्यवसायी तथा ब्यापारी दुबैलाई पैसा जुटाउने चटारो छ । यहि समयमा बजार बढाएर ठूला लगानीकर्ताले रकम जोही गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सुझाव संकलनका लागि सोमबार आयोजित कार्यक्रममा बैंकहरुको आधार ब्याजदर कोभिड अघिको भन्दा माथि जानसक्ने बताएका छन् । बैंकिङ क्षेत्रमा तरलता अभावको समस्याले समग्र दरहरु बढ्दै आएको समेत उनको बुझाई छ । उनले थपे,“अर्थतन्त्रको पछिल्लो अवस्थाले सबै क्षेत्रले एक तहमा सहनुपर्ने हुन्छ । अर्थतन्त्रलाई ट्रयाक ल्याउने गरी नै नीति निमार्ण हुने उनको भनाई छ ।

गभर्नरको यो अभिव्यक्तिका कारण बैंकहरुको ब्याजदर थप बढ्ने संकेत गरेको छ । राष्ट्र बैंकले बैंकदर नै ७ प्रतिशत पुर्याएको सन्दर्भमा गभर्नरको दिएको यो अभिव्यक्तिबाट आगामी दिनमा ऋणीहरुलाई ब्याजदरको मार थपिने देखिन्छ । चालु आवको असार मसान्त सकिन दुई हप्ताभन्दा कम समय भएका कारण बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको भएपनि अहिले पनि करिब एक दर्जन वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतको सीमाभन्दा माथि रहेका कारण पनि तत्कालका लागि केही समय सहज भएपनि तरलता फालाफालको अवस्था नआउने निश्चित प्रायः छ । राष्ट्र बैंकले साउन पछि मौद्रिक नीतिबाट सिडी रेसियो कार्यान्वयन गर्दै जाँदा फेरि पनि केही महिनाका लागि सहज भएपनि तरलता अभावको समस्यामा आशातित सुधार हुने देखिँदैन ।

बैंक वित्तीय संस्थाको आधार ब्याजदर कोभिड अघिको भन्दा माथि जान सक्छः गभर्नर

नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले बैंकिङ्ग प्रणालीमा अहिले पनि देशलाई चाहिनेभन्दा ३०० अर्बको स्रोतको अभाव रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा लगायतका अन्य उपकरणहरुबाट स्रोतभन्दा बढी भएको कर्जा मागलाई केही हदसम्म सहज बनाए पनि अन्य प्रकारका ऋणपत्रहरु बिक्री गरेर भएपनि स्रोतको खाडल पूरा गर्नुपर्ने बताए । देशभित्र भएको उच्च आयात घटाउनुपर्नेमा उनले जोड दिए ।

मंगलबार सेयर बजार ४६ अंकले घटेको छ । आइतबार सहित नेप्से लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले घटेको हो । तीव्र उतारचढावपुर्ण रहेको सेयर बजार बन्द हुने बेलामा ४६.०८ अंकले घटेर २ हजार ३० दशमलव ५९ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै उपसमूहको सुचक घटेर बजार राताम्मे देखिएको छ । सोमबारभन्दा कारोबार रकम र सेयरसंख्या दुबैमा उल्लेख्य कमी आएको छ ।
मंगलबार २२९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ रुपैयाँमा कारोबार भयो । सोमबार २३४ कम्पनीका ९४ लाख ८१ हजार कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँको सेयर कारोबारमा आएको थियो ।

आज सानिमा बैंकको प्रमोटर सेयर सबैभन्दा धेरै ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ । यस्तै अरुण काबेली पावरको ११.८२ करोड, शिवम् सिमेन्टस् १०.६० करोड र हिमालयन डिष्टिलरीको १०.२१ करोडको सेयर खरिद बिक्री भएको छ । अपर तामाकोशी, ङादी ग्रुप पावर, आशा लघुवित्त संस्थापक सेयर, अरुण भ्याली हाइड्रोपावर, एशियन लाइफ र नेपाल पुनर्बीमा कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

मंगलबार समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको सेयर १० प्रतिशतले बढेको छ । सीवाईसीको सेयरमूल्य १४०.३० रुपैयाँ बढेर १५४३.९० रुपैयाँ तथा ङादीको २८.९० रुपैयाँ बढेर ३१८.८० रुपैयाँ पुगेको छ । यसैगरी आँधीखोला लघुवित्तको सेयर ९.६१ प्रतिशत, स्वाभिमान लघुवित्त ८.१०, युनियन हाइड्रोपावर ५.३७ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त, अरुण काबेली पावर, आधिँखोला लघुवित्त, आरबिबि क्युचुअल फण्ड, र सिद्धार्थ स्कीम ग्रोथ स्कीम २ का इकाईधनी पनि आजको बजारमा कमाउने कम्पनीके सूचीमा परेका छन् ।

घलेम्दी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ६.६० प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै दिब्यश्वरी हाइड्रोपावर ५.९२, अजोड इन्स्योरेन्स ५.८६, सिइडिवी हाइड्रोपावर ५.७५, शिवश्री हाइड्रोपावर ५.६०, जोशी हाइड्रोपावर ५.५८ प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ५.५२ प्रतिशतले घटेको छ । न्यादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर र शिवम् सिमेन्टस्को सेयरमूल्य पनि पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार  १६ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।