मौद्रिक नीतिका माग बोकेर प्रधानमन्त्री भेट्न व्यस्त व्यवसायी

0
Shares

नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आगामी मौद्रिक नीतिमार्फत चालिनुपर्ने विषयमा छलफल गरेको छ ।

अर्थमन्त्रीको समेत कार्यभार समालेका प्रधानमन्त्रीलाई परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहन लगायतका विषयमा छलफल गरेको हो।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेका बेला उद्योग व्यवसायीहरु आफ्ना माग बोकेर प्रधानमन्त्री भेटन पुगेका हुन । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको हो ।

परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिती, लगानी प्रबद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको जनाएको छ । यसैगरी विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि छलफल भएको परिसंघले जानकारी दिएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी गराउँँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका विषयमा जानकारी गराए । तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उनले सुझाब दिए ।

अध्यक्ष अग्रवालले परिसंघका गतिविधि, आगामी भदौं २३ र २४ गते हुने पूर्वाधार सम्मेलन, लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराए । परिसंघले मुलुकको समग्र आर्थिक विकासका लागि सरकारले लिएका आर्थिक सम्बन्धी नीति, कार्यक्रममा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

छलफलमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पुर्व अध्यक्ष च्याङ अग्रवाललगायत सहभागी थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।