पर्यटकीय तथा सीमा क्षेत्रका होटल तथा रेष्टुरेन्टमा रुपे कार्ड प्रयोग गर्न सकिने

0
Shares

नेपाल राष्ट्र बैंकले भारतिय सीमा क्षेत्रका पर्यटकीय होटल तथा रेष्टुरेन्टमा रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने प्रबन्ध मिलाउने भएको छ । केन्द्रीय बैंकले भारतीय स्टेट बैंक आफ इण्डियाको लगानी रहेको नेपाल एसीआई बैंक मार्फत रुपे कार्डबाट भुक्तानी गर्न सकिने बातावरण मिलाएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी घट्दो विदेशी विनिमय सञ्चितिको समस्यालाई सहयोग पुग्ने गरी उक्त व्यवस्था गरेको बताए । उनले एसबीआई बैंकलाइ निर्देशन नै दिएर रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने पोस मेसिन पर्यटकीय क्षेत्रका हरेक होटल तथा रेष्टिुरेन्टमा व्यवस्था गर्न भनेको जानकारी दिए ।

त्यती मात्र नभई उनले नेपाल भारत सीमामा रहेका होटल रेष्टुरेन्टमा पनि रुपे कार्ड मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गराउन निर्देशन दिएको बताए ।

“एसबीआई बैंक एक्लैले गरे पनि ठिक छ,” उनले भने,“एसबीआई बैंकले अन्य कुनै बैंकसंग सहकार्य गर्छु भनेपनि गर्न सक्छ ।” तर, अहिलेको अवस्थामा भारतीय नागरिक नेपाल घुम्न आएको समयमा नगद भन्दा पनि औपचारिक माध्यमबाट नै भुक्तानी गर्न सक्ने गरी आवश्यक पुर्वाधारको विकास तत्काल गर्नुपर्ने बताए ।

पछिल्लो समयमा नेपालमा ठूला दरका भारतीय नोट नचल्ने हुँदा पनि भारतीय पर्यटकका लागि समस्या हुने गरेको पर्यटन व्यवसायीहरुले बताउँदै आएका छन् । ठूला दरका नोट नचल्ने र साना नोट धेरै ल्याउन पर्ने समस्याले पनि भारतीय पर्यटकले चाहेर पनि खर्च गर्न नसकेको अवस्था रहेको व्यवसायीहरु बताउँछन ।

रुपे कार्ड भारत सरकारले जारी गरेको डेविट तथा प्रिपेड कार्ड हो । भारत सरकारले ५ सय र एक हजारका पुराना नोट डिमोनिटाइज्ड गर्दा नेपालमा रहेका नोटको सटही सुविधा नदिएपछि नयाँ ठूला दरका नोट समेत नेपाली बजारमा चलन चल्तिमा ल्याइएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जादाँ उद्घाटन भएको रुपे कार्ड मार्फत हाल १२ देखि १४ सय पोस मेसिनबाट भुक्तानी गर्न सकिने जानकारी दिदै गभर्नर अधिकारीले भने,“रुपे कार्ड मार्फत भूक्तानी गर्न खोजेको खण्डमा विना कुनै झन्झट भुक्तानी हुने बातावरण बन्न पर्यो ।”

नेपालले समय समयमा डलर बिक्री गरेर भारु खरिद गर्दै आएको छ । यो कार्डको प्रयोग बढाउन सकेको खण्डमा भारु सञ्चितिमा पनि सहज हुने देखिन्छ । नेपालको अन्तराष्ट्रिय व्यापार करिब ८० प्रतिशत भारतसँग हुने गर्छ । त्यसले गर्दा पनि नेपाललाई भारु धेरै चाहिने गर्छ । यो व्यवस्थाले भारुको आवश्यकतालाई सम्बोधन गर्न सहज हुने निश्चित छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार  १८ : ५६ बजे