
स्टक ब्रोकर एसोसिएसन अफ नेपालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने बोर्डको निर्णय पुनः विचार गर्न माग गरेको छ ।
एसोसिएसनले धितोपत्र बोर्डलाई ज्ञापनपत्र पेश गर्दै धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र, पहुँच बिस्तार, क्षमता अभिबृद्धि तथा ब्यवसायिक सुरक्षा सम्बन्धमा बिचाराधिन मस्यौदामा धितोपत्र दलाल व्यवसायीको पनि राय सुझाव समेटिने गरी पुनः छलफल चलाउन आग्रह गरेको हो ।
एसोसिएसनले सरोकारवालासँग छलफलै नगरी धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्ने निर्णय गरि संसोधन प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयमा पेश गरेकोमा असन्तुष्टि जनाएको छ ।
धितोपत्र दलाल व्यवसायीहरुसँग प्रत्यक्ष सम्बन्धित नियम कानुन परिमार्जन गर्नुपुर्व व्यवसायीहरुसँग पनि राय सुझाव लिइने परम्परालाई बोर्डले बेवास्ता गर्दै ब्रोकरहरुसँग कुनैपनि राय सुझाव नलिइ अस्वभाविक हतारोमा रातारात ल्याइएको आरोप समेत लगाएको छ । साथै उक्त संसोधन प्रस्ताव समग्र धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको हितमा नरहेको बताएको छ ।
हाल संचालनमा रहेका व्यवसायीहरुबाट भौगोलिक रुपमा बजार तथा सेवाको बिस्तार हुन नसकेको भन्ने तथ्यहिन आरोप लगाइएको एसोसिएसनको भनाई छ । धितोपत्र दलाल व्यवसायीको संख्या वृद्धिको प्रावधानले दसकांैदेखि कायम निष्ठा तथा इमान्दारितालाई समाप्त गरेको हामीले महसुस गरेका छौं । यसबाट हामी व्यवसायी अत्यन्तै चिन्तित र दुखि भएका छौं । एसोसिएसनले बोर्डलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
बिगत तिन दशकदेखि बजारको सारथीका रुपमा रहेका ब्रोकरले ओपन आउट क्राइ, सेमि अटोमेटेड कारोबार प्रणाली हुँदै आजको अनलाइन कारोबार प्रणालीको अवलम्बन र सफल प्रयोगमा नियामक र बजार संचालकलाई पुर्ण रुपमा सहयोग गर्दे आइरहेको उनीहरुकोे भनाई छ । साथै बजारको बिस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखा रहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा पुर्णरुपमा बेवास्ता गरिएको गुनासो गरेका छन् ।
शाखा खोल्न पनि सिमित संख्यामा र त्यो पनि बर्सौ लगाउने गरिएको हुँदा ब्रोकरलाई लगाइएको आरोप र आरोपका आधारमा गरिएको संसोधन प्रस्ताव नियामकको असक्षमतालाई ढाकछोप गर्ने एउटा प्रपन्च मात्र भएको उनीहरुको भनाई छ । नियामककै अनिच्छाले गर्दा मार्जिन कारोबारको कार्यबिधि लागु भए पनि अगाडि बढाउन नसकिएको दाबी समेत गरेका छन् ।
नेपाल जस्तो सानो अर्थतन्त्र भएको बिकासशिल देशमा बिस्वका अति विकसित देशहरुको भन्दा पनि धितोपत्र दलाल व्यवसाय मात्र गर्न व्यव्सायीको पुँजी कयौं गुणाले उच्च राख्न लागाउनु भनेको नियामकले सुक्ष्म अध्ययन बिना नै हचुवाको भरमा अल्पदृस्टि राखि निर्णय गरेको आरोप ब्रोकरहरुको छ । गुणात्मक रूपमा बढी पुँजी कायम गर्न लगाउनुले पनि धितोपत्र बोर्डको हालको नेतृत्व धितोपत्र व्यवसायीहरुप्रति पुर्वाग्रही रहेको एसोसिएसनको भनाई छ ।
धितोपत्र दलाल व्यवसायको जोखिम ब्यवस्थापनका लागि अपरिहार्य अङ्गको रुपमा रहेको निक्षेप सदस्य व्यवसाय खोस्न खोज्नुले नियामकले आजसम्म धितोपत्र दलाल व्यवसाय र यसमा निहित जोखिमनै नबुझेको आरोप समेत लगाएका छन् ।
एसोसिएसनले आधारहिन अध्ययनका आधारमा ब्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको संसोधन प्रस्तावले हाल संचालनमा रहेका व्यव्सायीहरुलाई व्यवसाय छोडन बाध्य पार्ने बताएको छ ।
अन्य उत्पादनमुलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइ यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहित जोखिम बढ्ने र क्षमतावान टिक्ने नाममा सीमित समुहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सृजना भइ समग्र बजार नै असन्तुलित हुन जान ब्रोकरहरुको भनाई छ ।
उनीहरुले हाल अर्थमन्त्रालयमा बिचाराधिन रहेको यस मस्यौदामा धितोपत्र दलाल व्यवसायीको पनि राय सुझाव समेटिने गरि पुनः छलफल चलाउन आवश्यक रहेको भन्दै उक्त मस्यौदा पुनः बोर्डमा नै फिर्ता ल्याई गहन अध्ययन गराई सम्बन्धित पक्षको राय सुझावका आधारमा अघि बढाउन अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया