जटिल अर्थतन्त्रको पीडा व्यवसायीले मात्र नभई बैंकहरुले पनि भोग्नुपर्छ

0
Shares

कोरोना महामारीपछिको अर्थतन्त्रमा देखिएका नकारात्मक असर उद्योग तथा व्यवसायमा मात्र देखिएको उद्योगी तथा व्यवसयीहरुले गुनासो गरेका छन् । उद्यागी व्यापारीहरुलाई मात्र क्षति पुर्याएर अर्थतन्त्रको सुधार नहुने उनीहरुले बताएका हुन् ।

अर्थतन्त्रमा समस्या देखिएको भन्दै व्यपार व्यवसायमा सुस्तता दिने खालका नीति अबलम्बन गर्दा बैंकहरुलाई मात्र फाइदा पुगेको व्यवसायीहरुको गुनासो छ । पछिल्लो समयमा उद्योगी तथा व्यापारीले बैंक वित्तीय संस्थावाट कर्जा पाएका छैनन् । त्यती मात्र नभई ब्याजदर पनि दिन प्रति दिन बढेको बढ्यै भएपछि व्यापार व्यवसायलाई निरन्तरता दिन नै असहज हुने गरेको उनीहरुको भनाई छ । विदेशी विनिमय सञ्चितिमा दबाब देखिएपछि आयात गरिएको प्रतिबन्धले पनि व्यापारी तथा व्यवसायी मात्र मारमा परेको उनीहरुको बुझाई छ ।

बैंकिङ प्रणालीमा तरलता अभावको समस्या जटिल बन्दै गएको अवस्थामा उद्योगी व्यवसायीहरुले कर्जा नपाएको गुनासो गरेको नयाँ होइन । तर, पछिल्लो समयमा स्वीकृत कर्जा दिनका लागि पनि बैंकहरुले पुर्ववत सम्झौता विपरित सेवा शुल्क तथा ब्याजदर लिने गरेको गुनासो समेत उनीहरुको छ । बैंकहरुले अर्थतन्त्रको जस्तै सुकै अवस्था भएपनि नाफा गर्नै पर्ने भन्दै व्यवसायीहरुले पछिल्लो समयमा अर्थतन्त्रमा परेको दवावको पीडा बैंकहरुलाई पनि हुनुपर्ने तर्क गरेका हुन ।

पछिल्लो समयमा ठूला व्यवसायीले बैंक वित्तीय संस्थाबाट कर्जा पाइराखेको भएपनि साना तथा मझौला उद्यामीले कर्जा पाउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । “उनीहरुलाई बैंकले कर्जा दिने कमिट गरीसकेको भएपनि पाएका छैनन्,”उनले भने,“साना उद्यमीको स्थिती एकदमै नाजुक रहेको छ ।”

अहिले खुद मूल्य वृद्धि १७ देखि १८ प्रतिशत पुगेको बताउँदै उनले महंगीको असर सर्वसाधारणमा देखिइ सकेको बताए । कोरोनाका लागि खुकुलो आर्थिक नीति लिएको विश्वमा इजी मनि फर्मेसनले उपभोग बढाएपछि मूल्य वृद्धिको समस्या देखिएको हो । त्यसको असर नेपालमा पनि देखिएको उनको बुझाई छ । त्यससंगै बैकिङ क्षेत्रको बढ्दो ब्याजदरका कारणले पनि महंगी बढेको गोल्छाको भनाई छ ।

“विश्व भरी नै ब्याजदर बढीरहेको छ । विश्वका अधिकांस केन्द्रीय बैंकले महंगी नियन्त्रणको प्रयास पनि गर्दै आएका छन,” उनले भने,“ ६ महिनामा ब्याजदर झण्डै दोब्बर भएको छ । समयमा नै केन्द्रीय बैंकले हस्तक्षेप गरेको भए यस्तो अवस्थामा ब्याजदर आइपुग्दैनथ्यो ।”

अहिलेको अर्थतन्त्रमा देखिएको समस्या पिडा बैंकले पनि महसुस गर्नुपर्ने दावी गर्दै गोल्छाले उद्योग वाणिज्य महासंघमा बैंकहरुसंग सम्बन्धीत धेरै गुनासाहरु आउने गरेको जानकारी दिए । “कर्जा लिदाँ गरेको सम्झौता अनुसारको आधार दर प्लस प्रिमियममा बैंकहरुले भुक्तानी नदिएको अवस्था छ,” उनले भने,“ कर्जाका लागि बैंकहरुमा जाँदा पुर्ववत सम्झौता अनुसारको भन्दा पनि थप प्रिमियम दिने भएमात्र कर्जा दिने शर्त राख्ने गरेका छन् । यो अनैतिक पनि हो ।”

समस्या अर्थतन्त्रका सबै क्षेत्रहरुमा परेको तर्क गर्दै उनले बैंकहरुले अन्य शिर्षकमा गर्ने आम्दानीलाई रोक्न समेत नेपाल राष्ट्र बैंकलाई अनुरोध गरे । त्यती मात्र नभई सीमित बस्तुहरुको आयातमा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्थाले बैंकहरुलाई नाफा कमाउन मात्र मद्दत पुगेको उनको अरोप छ । “मार्जिन राख्ने उद्यमीले कुनै ब्याज पाएको छैन,” उनले भने,“यसले महंगी बढाएको छ भने बैंकहरुलाई तत्काल नाफा गर्ने नयाँ उपाय बनेको छ ।”

नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले ब्याजदर घटाउनु पर्ने बताए । उनले कोभिडका कारण नोक्सानमा गएका उद्योग व्यवसायहरुलाई कर्जाको साँवा तथा व्याज भुुक्तानीको अवधिमा अझै थप गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरे ।

व्यवसायी ठाकुर कुमार श्रेष्ठले कर्जा दिँदा नै सेवा शुल्क भनेर लिदाँ पनि वर्षिक नविकरण शुल्क भनेर लिने गरेको गुनासो गरे ।

जेम्स एण्ड ज्वेलरी व्यवसायी मोहन शाहले राष्ट्र बैंकका नीतिका कारण बारम्बार दुर्घटना निम्तने गरेको बताए । विगतमा युवराज खतिवडाले जग्गामा लगाएको सीमाले समस्या सृजना गरेको बताउँदै उनले भने,“ कुनै निश्चित क्षेत्रको नीति ल्याउने हो भने जोखिमको मूल्याङकन गरेको देखिदैन ।” गत वर्ष ७.५ प्रतिशतमा पैसा दिइराखेको बैंकले आज आएर एकै पटक १५ पुर्याएको गुनासो छ । “बैंकको म्यानेजरले तपाइले जे गर्नु छ गर्नु, अर्को बैंकमा गएपनि जानु तर, अहिलेको अवस्थाले हिजोको ब्याजदरमा कर्जा दिन सकिदैन भनेपछि हस्ताक्षर गरेर आए,” उनले थपे ।

बैंकिङ प्रणालीको तरलता केही मात्रामा फ्रोजन पनि भैसकेको जानकारी दिँदै उनले त्यस्तो खालको पैसालाई राष्ट्र बैंकले मूल्याङकन नगरेको बताए । साथै सुन व्यवसायीले खोलेका खाता ६ महिनामा डोर म्याट हुने समस्या रहेको समेत उनले जानकारी दिए । बैंकहरुका यस्ता गतिविधीले व्यवसायीले अनावश्यक शुल्क तीर्नु परेको उनको गुनासो छ ।

कोरोनाको अवधिमा कर्जाको साँवा ब्याज भुक्तानी, व्यवसायीक निरन्तरता कर्जा, कर्जा असुलीका लागि सहज नीति लिदाँ भएको सहजता अहिले आएर बल्झिएको छ । तर, कोरोना अवधिमा बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा उद्योगी व्यवसायीले सस्तो दरमा कर्जा लिएका थिए । कर्जा थप्न पनि पाइने र पुरानो कर्जा तिर्न पनि नपर्ने भएपछि व्यवसायीले सस्तो दरको कर्जा सेयर बजार र घरजग्गामा लगानी बढाए । त्यसले गर्दा अहिले वित्तीय प्रणालीमा पैसा फिर्ता नआएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बारम्बार व्यापारी व्यवसायीले लिएको कर्जा कहाँ अड्केको छ भनेर प्रश्न गर्ने गरेका छन् ।

यसरी सस्तो दरमा कर्जा पाएका उद्योगी व्यवसायीहरु ब्याजदर तथा सेवा शुल्क बढेपछि बैंकहरुप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका हुन । वित्तीय प्रणालीमा कर्जा लगानी योग्य रकम नहुने र विदेशी विनिमयमा परेको दवावका कारण उद्योगी व्यवसायीलाई बढी असर गरेपछि यसको असर बैंकलाई पनि सार्नुपर्ने भन्दै ब्याजदर बढाउन नहुने तर्क व्यवसायीहरुले गर्न थालेका हुन । झट्ट हेर्दा पनि कोरोनाका अवधिमा समेत बैंक वित्तीय संस्थाको मात्र यस्तो क्षेत्र रह्यो जसको नाफामा समान्य कमी आएको थियो । कोरोनाका कारण कुनै पनि बैंक वित्तीय संस्था नोक्सानीमा गएको अवस्था छैन । यो अवधिमा बैंक वित्तीय संस्थाको केही खराब कर्जा बढ्ने अनुमान गरिएको भएपनि त्यसको बास्तविकता आउनै बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार  १७ : १४ बजे