खानेपानी तथा सरसफाई सेवा सुधारका लागि विश्व बैंकको १० अर्ब सुहलियत ऋण

0
Shares

विश्व बैंकले खानेपानी तथा सरसफाई सेवाको वितरणमा सुधार गर्न करिब १० अर्ब नेपाली रूपैंयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।

नेपाल सरकार र विश्व बैंक बिच नेपालमा खानेपानी तथा सरसफाई सेवा सुधारका लागि आठ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैंया) बराबरको आयोजनामा हस्ताक्षर भएको छ ।

यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका हुन।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले यस आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, खानेपानीको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवद्र्धन गर्न मद्दत गर्ने बताए ।

खानेपानी क्षेत्र सुशासन तथा पूर्वाधार सहयोग आयोजना कर्णाली र सुदूरपश्चिम प्रदेशका रणनैतिक नगर र गाउँपालिकामा कार्यान्वयन गरिनेछ । यी दुवै प्रदेशमा खानेपानी आपूर्ति र सरसफाई सेवाहरूको पहुँच न्युन हुनु, गरिबी उच्च हुनुका साथै यी प्रदेशहरू जलवायु परिवर्तनको समेत जोखिममा छन् ।

“यस आयोजनाले नगरपालिकाहरूको क्षमता अभिवृद्धि गरी स्थानीय तहमा खानेपानी र सरसफाई सेवाको आपूर्तिलाई सुदृढ गर्न मद्दत गर्नुका साथै नेपालको आर्थिक प्रगति र हरित, उत्थानशिल तथा समावेशी विकास हासिल गर्नमा खानेपानी र सरसफाई पूर्वाधारमा रहेको महत्वपूर्ण कमीलाई समेत सम्बोधन गर्ने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले बताए ।

यस आयोजनाले कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारहरूलाई खानेपानी र सरसफाई सेवाहरू दिगो र प्रभावकारी रूपमा उपलब्ध गराउन सक्षम संयन्त्रहरू विकास गर्न मद्दत गर्नेछ।साथै यस आयोजनाले यस क्षेत्रको प्रादेशिक र संघीय सरकारका निकायहरूको अनुगमन र नियामक क्षमताको विकास गरी सेवाग्राहीहरूप्रति यस क्षेत्रको जवाफदेहितालाई पनि बलियो बनाउनेछ।

यी कार्यक्रमका अतिरिक्त, यस आयोजनामा खानेपानी आपूर्ति र सरसफाई पूर्वाधारहरूको निर्माण र पुनस्र्थापना गर्नुका साथै पानीको गुणस्तर नियमन गर्ने सुविधाहरू र अनुगमन प्रणालीहरूमा समेत लगानी गरिनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ असार २०७९, बुधबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।