अमेरिकाको मुद्रास्फीति दर सन् १९८१ यताकै उच्च हुन पुगेको छ । जुन महिनाको उपभोक्ता मूल्य सूचांक ९.१ प्रतिशत रहेको छ ।
खाद्यान्न तथा इन्धनको मूल्य आकाशिए पछि उपभोक्ता मूल्य सूचांक ८ प्रतिशतबाट बढेर ९.१ प्रतिशत हुन पुगेको हो ।
अमेरिकी श्रम विभागका अनुसार ग्रोसरीको मूल्य गत वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । यसैगरी इन्धनको मूल्यमा ६० प्रतिशत वृद्धि भएको छ भने घरभाडा मे महिनाको तुलनामा ०.८ प्रतिशतले बढेको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले औसत ब्याज दर वृद्धि गरिरहेको छ । अर्थशास्त्री तथा प्रक्षेपण निकायहरुले गरेको प्रक्षेपण भन्दा बढी मूल्यवृद्धि दरको तथ्यांक सार्वजनिक भएपछि फेडरल रिजर्भले कति प्रतिशतले औसत ब्याज दर बढाउँछ भन्ने जिज्ञासा विश्वव्यापी रुपमा बढेको छ ।
यस अघि अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्न आफूहरु तत्पर रहेको र आवश्यक रुपमा ब्याज दर बढाउने बताएका थिए । फेडरल रिजर्भले ब्याजदर वृद्धि गरेसँगै अमेरिकामा सन् २०२२ को अन्तिम त्रैमासमा आर्थिक मन्दी हुने अनुमान विश्वभरका अर्थशास्त्री तथा विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष लगायतका संघसंस्थाले बताइरहेका छन्।
जुन महिनामा फेडरल रिजर्भका अध्यक्ष पावेलले जुलाई महिनामा ०.७५ प्रतिशतले औसत ब्याज दर बढाउने तयारी गरिरहेको बताएका थिए । मुद्रास्फीति दर ९.१ प्रतिशत भएपछि औसत ब्याज दर १ प्रतिशतले बढ्ने अनुमान सीएमई गु्रपले गरेको छ ।
अमेरिकाको उपभोक्ता मूल्यवृद्धि सूचांक सार्वजनिक भएसँगै त्यसको तरङ्ग विश्व सेयरबजारमा परेको छ । आर्थिक मन्दीको सम्भावना उच्च हुँदै गएपछि लगानीकर्ताहरु अतालिँदा सेयर बजार व्यापक रुपमा ओरालो लागेको छ । यसैगरी डलर थप शक्तिशाली भएको छ ।
प्रतिक्रिया