त्रिविको चरम लापरवाही, पहिलो दिनको प्रश्नपत्रको सुरुमै त्रुटि

0
Shares

त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा निर्माणमा चरम लापरवाही गरेको देखिएको छ । साउने १ गतेदेखि सुरु भएको स्नातक दोस्रो वर्षको परीक्षाको पहिलो दिन अनिवार्य नेपाली विषयको प्रश्नपत्रमा त्रुटी फेला परेको हो ।

प्रश्नपत्रको १ मा (क) र (ख) गरी दुईवटा प्रश्न सोधिएकोमा दुबै प्रश्नको उत्तर दिनुपर्ने थियो । तर (क) मा सोधिने प्रश्नमा प्रश्न नै नभई उत्तर दिन भनिएको थियो । परीक्षामा सोधिएकाे प्रश्नपत्रको पहिलो प्रश्न नै पूर्ण प्रश्न नभएपछि परीक्षा सुरु हुनुभन्दा अघि कक्षाकोठामा एकछिन हल्लीखल्ली चलेको थियो । देशको जेठो विश्वविद्यालयबाट नै यस किसिमको गल्ती हुनु लापरवाहीको पराकाष्ठा हो ।

“पहिलो प्रश्न नै नदेख्दा अचम्म लाग्यो । त्रिविले अरु संकायको प्रश्नपत्रमा लापरवाही गरेको थाहा पाएता पनि, आफूले उक्त अवस्था भोग्दा, एकछिन आत्मबल नै कम भएको महसुस गरेँ ।” परीक्षामा संलग्न भएका एक छात्राले भनिन्, “परीक्षा हलमा गार्डको लागि बस्नु भएका शिक्षकलाई सोध्दा, झर्किएर हामीलाई थाहा छैन, माथिबाट केही सूचना आएको छैन भन्नुभयो ।”

प्रश्नपत्रमा भएको त्रुटीको कुरा राख्दा परीक्षा हलका गार्डबाट झनै निराशाजनक उत्तर आउँदा आफ्नो मनोबल केही छिन डग्मगाएको अनुभव ती छात्राको अनुभव छ । प्रश्न नै नभई उत्तर मागिएकाले उक्त प्रश्नको प्राप्ताङ्क आफूहरुले पाउनुपर्ने विद्यार्थीको माग छ ।

प्रश्नपत्रमा त्रुटि हुने त्रिभुवन विश्वविद्यालयको यो पहिलो पटक होइन । यसअघि भएका विविध संकायका परीक्षामा पनि प्रश्नपत्र दोहोरिने, कुनै कलेजमा सोधिएको प्रश्नपत्र हुबहु उस्तै हुने जस्ता लापरवाहीहरु त्रिविको विश्वसनियतामाथि समेत पश्न उठ्ने गरेको छ ।

यसअघि त्रिविले सञ्चालन गरेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएको थियो । मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो। ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ। 

परीक्षा समयमा नलिने, नतिजा प्रकाशनमा एक वर्ष भन्दा बढी समय लाग्ने जस्ता कार्यहरुले त्रिविको विश्वसनीयतामा प्रश्न मात्रै उठाएको छैन, विद्यार्थीवर्गमा नैराश्यता पनि छाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ साउन २०७९, आइतबार  १९ : १२ बजे