एयरपोर्टमै मनिचेञ्जरबाट राहदानीका आधारमा २ सय डलरसम्म साट्न सकिने

0
Shares

अन्तर्राष्ट्रिय उडान गर्ने एयरपोर्टका मनि चेञ्जरबाट २ सय अमेरिकी डलर सटही सुविधा लिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई नयाँ मापदण्ड तोक्दै राहदानीका आधारमा सटही सुविधा दिने भनेको हो ।

नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ लाई संशोधन गर्दै मनिचेञ्चरबाट पनि २ सय सम्मको अमेरिकी डलर सहटी सेवा दिन सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले त्यस्तो सेवा दिने मनिचेञ्जरले अन्यले भन्दा थप २ लाख रुपैयाँ बढी धरौटी राख्न पर्ने व्यवस्था गरेको छ ।

मनिचेञ्जरले दिने सो सटही सुविधा विदेश भ्रमणमा जाने नेपालीलाई राहदानी बापत दिइने १५ सय डलरको सीमा ननाघ्ने गरी हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बताए ।

“एयरपोर्टमा भएका सबै मनिचेञ्जरले यस्तो सुविधा दिन पाउँदैनन्,” पौडेलले भने, “एयरपोर्ट अथोरिटीको सिफारिसमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका मनिचेञ्जरले मात्र राहदानी वापतको सीमा ननाघ्ने गरी २ सय अमेरिकी डलर सम्म सहटी सेवा दिन सक्छन् ।”

अहिलेसम्म त्यस्तो सेवा दिने संस्थालाई नेपाल राष्ट्र बैंकले अनुमति दिइनसकेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय उडान गर्ने एयरपोर्टबाट मनिचेञ्जरले यस्तो सुविधा दिन सक्छन् । राहदानी वापतको १५ सय डलरसम्मको सीमामा थप घट हुने गरी यस्तो व्यवस्था नआएको समेत पौडेलले स्पष्ट पारे ।

राष्ट्र बैंकले विनियमावलीको संशोधन मार्फत मनीचेञ्जरको पुँजीको परिवर्तन नगरेपनि २ सय डलरसम्मको सटही सुविधा दिने संस्थाका लागि इजाजत शुल्कमा थप २५ हजार रुपैयाँ र धरौटी थप २ लाख फरक गरिएको उनले जानकारी दिए । यो प्रकृतिको काम नै थप भएको हुनाले विनियमावलीमा नयाँ व्यवस्था समेत थप गरिएको छ । यी संस्थाहरुको नियमन गैर बैंक निरिक्षण तथा सुपरिवेक्षण विभागले गर्नेछ ।

केही समय अघि राहदानी वापतको सटही सुविधा एयरपोर्ट तथा बाहिरका मनिचेञ्जरले पनि दिने गरेकोमा बीचमा रोकिएको थियो । नेपाल राष्ट्र बैंकले त्यसलाई हटाएको थियो । तर, अहिले एयरपोर्टको सन्दर्भमा मात्र यस्तो व्यवस्था गरिएको उनले बताए । विदाको दिन अथवा इमरजेन्सी जानुपर्ने अवस्थालाई मध्यनजर गरेर एयरपोर्टको सन्दर्भमा यस्तो व्यवस्था सुचारु गर्न लागेको उनको भनाई छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ साउन २०७९, बुधबार  १५ : ४१ बजे