निवर्तमान अर्थमन्त्री शर्मामाथिको अनुसन्धान लम्बियो

0
Shares

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको अनुसन्धान अवधि लम्बिएको छ ।

अर्थमन्त्रीमाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको अनुरोधपछि बिहीबार प्रतिनिधि सभाले समितिको म्याद ७ दिनका लागि थप गरेको छ ।

बजेट निमार्णका क्रममा अनाधिकृत व्यक्तिहरुको प्रवेश र सिसीटिभी फुटेज गायब भएको विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखि आएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए । बहुमत सांसदहरूले सहमति जनाएपछि उक्त समितिको म्याद सात दिन थप भएको हो ।

असार २२ गते गठन भएको समितिले असार २८ गतेदेखि काम सुरु गरेको थियो । समितिको कार्यावधि दश दिन मात्र रहेकाले बिहीबार सकिँदै थियो । समय थप भएसँगै समितिले थप अनुसन्धानको लागि अब साउन १२ गते बिहीबारसम्म समय पाएको छ ।

समितिले यसअघि बिहीबार नै निवर्तमान अर्थमन्त्री शर्मासँग २ घण्टा बढी छलफल गरेको थियो । तर अर्थ सचिव सहित उच्च अधिकारी र सम्बन्धीत शाखाका प्रमुखहरुबाट पाएजस्तै बजेट निर्माणको विधि र प्रकृयाभन्दा बाहिर नगएको जवाफ शर्माले दिएको एक सदस्यले जानकारी दिए ।

“हिजो अस्तिका जवाफ प्रशासनिक थिए । आजको जवाफ राजनीतिक पनि भयो । जुन विषयमा कुरा उठिरहेको छ । जसरी यसअघि सबै जनाबाट जवाफ आइरहेको थियो सोही प्रकारको जवाफको निरन्तरताको हिसाबले आज आयो ।” उनले भने, “बजेट मैले नै बनाएको हुँ, कार्यविधि केही मिचिएको छैन, बजेट प्रणालीले जे भनेको छ त्यहि गरेको हुँ । बाहिरको व्यक्ति आउने सम्भावना नै हुँदैन भनेर उहाँले भन्नुभयो ।”

व्यक्ति अनुसार जवाफको शैली र तौरतरिका फरक फरक भएपनि बाहिर आएको विषयवस्तुलाई कोही कसैले पनि स्वीकार नगरेको ती सदस्यले बताए । उनले भने, “अर्थमन्त्रीले पनि अनाधिकृत व्यक्ति प्रवेश गरेको छैन । हामीले केही गल्ति गरेको छैन भन्ने धारणा राख्नुभयो ।”

उनले सदस्य समितिका सबै सदस्यले एक एक गरेर प्रश्न सोधेको र अर्थमन्त्रीले ती प्रश्नको एक एक गरी जवाफ दिएको जानकारी दिए । २ घण्टासम्म चलेको छलफलमा समितिको बैठकमा मन्त्री शर्माले अर्थमन्त्रीको हैसियतमा उनले प्रणालीले दिएको अधिकार प्रयोग गरेर आफैँले करको दर हेरफेर गरेको, अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर कुनै पनि अनाधिकृत काम नगरेकाले आफूमाथि लागाइएको आरोप निराधार रहेको दाबी गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ५ साउन २०७९, बिहीबार  १९ : २२ बजे