अभियान लघुवित्तको साउन १८ र धौलागिरीको साउन २४ गतेदेखि आईपीओ बिक्री खुल्ने

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएका छन् ।

अभियान लघुवित्तले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता र धौलागिरी लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ ।

लगानीकर्ताले अभियानको आईपीओमा साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यस्तै धौलागिरीको आईपीओमा साउन २९ गतेसम्म न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यद्यपी निकै कम संख्याका लगानीकर्ताले मात्र सेयर पाउने हुनाले १० कित्ताभन्दा बढी आवेदन दिनुपर्ने देखिन्न ।

दुबै लघुवित्तको आईपीओमा इच्छुक आवेदकले मेरो सेयरको मोबाइल एपतथा वेबसाइट र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन्।

अभियान लघुवित्त

लघुवित्तले साउन १८ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता जारी गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल १५ करोड २५ लाख रुपैयाँ रहेको अभियान लघुवित्तको आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

धौलागिरी लघुवित्त

धौलागिरी लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ८ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत बराबरको आईपीओ निष्काशन गरेको हो । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल ७ करोड रुपैयाँ रहेको धौलागिरी लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँडपछि १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ साउन २०७९, आइतबार  ०७ : १७ बजे