
यो साताको अन्तिम दिन शुक्रबारको सेयर बजार सामान्य बढेर बन्द भएको छ । तर, यसदिनको कारोबारमा मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का भएको कम्पनी टप गेनरको अग्रपक्तिमा परेको छ ।
शुक्रबार नेप्से सूचक १२.९२ अंकले बढेर २१४०.३९ विन्दुमा पुगेको छ । यसदिन २१५ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर भने २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरमा किनबेच भएको छ । दुई घण्टाको अवधिमा पनि नेप्सेमा २ अर्ब बढीको सेयर किनबेच भएको हो ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिँदा जलविद्युत समूहको उपसूचक ९.५१, जीवन बीमा २४.०१, निर्जीबन बीमा १३.९२ अंकको गिरावट आएको छ । यस्तै बैंकिङ समूहको ३.२८, विकास बैंक १७९.५८, वित्त कम्पनी १८.२२, होटल तथा पर्यटन १२१.७८, उत्पादन तथा प्रशोधन ३४.५९, अन्य समूहको उपसूचक २४.९२ अंकको सुधार देखिएको छ ।
शुक्रबारको बजारमा रिलायन्स लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जरमा गएको रिलायन्स लाइफ इन्स्योरेन्सको नेप्सेमा कारोबार हुँदा टप गेनरको अग्रपत्तिमा रहेको छ । मर्जरमा गएका कम्पनीको कारोबार बन्द गर्ने चलन भएपनि शुक्रबारको कारोबारमा यस्तो त्रुटि देखिएको हो ।
गत असार २९ गते दुई बिमा कम्पनीबीच मर्जरको सम्झौता भएदेखि नै नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का थियो ।
रिलायन्स लाइफको १६ वटा कारोबारमा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको ६ सय १० कित्ता सेयर किनबेच भएको छ । कारोबार रोक्का भएको कम्पनीको सेयर किनबेच भएको चालपाएपछि केहिबेरमा कारोबार रोक्का भएको थियो।
यसदिन राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ। यस्तै लुम्बिनी विकास बैंकको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने एक्सेल डेभलपमेन्ट बैंक,साग्रिला डेभलपमेन्ट बैंक र बोटलर्स नेपालको ६ प्रतिशतले बढेको छ।
शुक्रबारको कारोबारमा बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने जोशी हाइड्रोपावर २.५६ प्रतिशत, लिवर्टी इनजी २.५० प्रतिशत र ग्रिन लाइफ हाइड्रोपावर २.२४ प्रतिशतले घटेको छ।
यसदिन शिवम् सिमेन्टको सबैभन्दा धेरै १२ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया