उन्मुक्तीपछि अर्थमन्त्रीमा दोहोरिँदै जनार्दन शर्मा

0
Shares

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा संसदीय विशेष छानबिन समितिबाट उन्मुक्ती पाएपछि जनार्दन शर्मा अर्थमन्त्रीमा दोहोरिने पक्कापक्की भएको छ ।

नेकपा माओवादी केन्द्रका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष नाम पठाइसकेको छ । शर्माको अर्थमन्त्रीमा शपथको तयारी भइरहेको बताइएको छ ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषय उत्कर्षमा पुगेपछि शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

छानविन समितिले सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाएको १३८ पृष्ठको प्रतिवेदनमा अनुसन्धानका क्रममा जनार्दशन शर्मा माथि लागेको आरोप पुष्टि नभएको उल्लेख गरेको छ ।

छानविनका प्रकृयामा जालझेल हुँदै आएकोमा प्रहरीले उपलब्ध गराएको सीसीटीभी फुटेजबारे दिएको राय प्रतिवेदनसमेत अनुसन्धानलाई सधाउने किसिमको थिएन । सम्बन्धित निकायका प्रतिनिधिको जवाफ, कागजात, प्राप्त गरेका सीसीटीभी फुटेजको अध्ययन लगायत हालसम्म समितिले गरेको छानबिन र सङ्कलन गरेका प्रमाणका आधारमा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले प्रवेश गरेको नदेखिएको प्रतिवेदन समितिले बुझाएको थियो ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशसँगै करका दर हेरफेर गराएको आरोपका सम्बन्धमा ११ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले गत साउन ५ गतेसम्मको म्याद पाएकोमा छानबिन पुरा नभए पछि थप ७ दिन अवधि थप गरिएको थियो । थपिएको समय समेत १७ दिनमा समितिले प्रतिवेदन बुझाएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ श्रावण २०७९, आइतबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।