आधा दर्जन बढी ठूला बैंकको कारोबार रोक्का

0
Shares

प्रभु बैंक र सेन्चुरी बैंक एक अपासमा मर्जरमा जाने सहमति गरेपश्चात नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार रोक्का हुने वाणिज्य बैंकको संख्या ७ पुगेको छ।

मर्जरमा जान सहमति गरेका आधा दर्जन बढी वाणिज्य बैंकहरुको कारोबार नेप्सेले रोकेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया पूरा भएर एकीकृत कारोबार थालेपनि सेयर कारोबार भने फुकुवा भइसकेको छैन ।

पछिल्लो तथ्यांक अनुसार मर्जरमा जाने सहमति भएर कारोबार रोक्का भएका वाणिज्य बैंकहरुको संख्या ७ पुगेको छ । आइतबार मात्रै प्रभु र सेन्चुरी बैंकले मर्जरमा जाने सहमति गरेका थिए । प्रभुले सेन्चुरीलाई समान हैसियतमा प्राप्ति गर्ने प्रारम्भिक सहमती गरेको हो । सोमबारबाट सेन्चुरी बैंकको कारोबार रोक्का भएको छ।

यसअघि मर्जर सहमती गरेका नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एकीकृत कारोबार भइसकेको भएपनि सेयर कारोबार रोक्का नै रहेको छ । यस्तै ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरको प्रक्रियामा रहेका छन । हिमालयन र सिभिल बैंक पनि एकआपसमा मर्जरको प्रक्रियामा रहेका छन । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पनि मर्जर प्रक्रियामा रहेका छन । मर्जर प्रक्रियमा रहेका बैंकहरुको सेयर कारोबार समेत रोक्का रहेको छ ।

नबिल बैंकले बंगलादेश बैंकलाई प्राप्ति गरेको र हिमालयन बैंकले सिभिललाई पनि प्राप्ति गर्ने भएकाले यी दुई बैंक तर्फको सेयर भने कारोबार मै रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको धितोपत्र कारोबार रोक्का राख्ने व्यवस्था खारेज गर्दै धितोपत्र बोर्डलाई मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको कारोबार रोक्का गर्ने, नगर्ने के व्यवस्था गर्ने भन्ने जिम्मा दिएको छ।

धितोपत्र बोर्डले चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका केहि दिनमा निर्माण गरी लागु गर्ने घोषणा गरेको छ ।

अहिले ८ वटा वाणिज्य बैंकहरु बाहेक १८ वटा जीवन तथा निर्जीवन बीमा कम्पनी र दुईवटा हाइड्रोपावर कम्पनीको पनि मर्जर प्रक्रियाकै कारण कारोबार रोक्का रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ साउन २०७९, सोमबार  १० : ५६ बजे