हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
२१ प्रतिशत बढीले चुक्तापूँजी बढाएको बैंकको नाफा १७ प्रतिशत धेरै घट्दा प्रतिसेयर आम्दानीमा झण्डै ९ रुपैयाँ गिरावट आएको छ ।
बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन अघिल्लो आर्थिक वर्षकोे तुलनामा १७.२२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घट्दा नाफा प्रभावित भएको हो । बैंकको खुद ब्याज आम्दानी ३५.२५ प्रतिशत बढेको छ । तर, सञ्चालन मुनाफा भने १७.८१ प्रतिशतले घटेको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ३१ प्रतिशत बढेको छ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड १५ लाख रुपैयाँ रहेको छ।
बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। २८ रुपैयाँ ७ पैसा रहेको बैंकको यस्तो आम्दानी घटेर १९ रुपैयाँ १४ पैसामा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा घटेको हो । चुक्तापूँजी बढेको अनुपातमा बैंकको नाफा नबढेपछि प्रतिशेयर आम्दानी घटेको हो।
बैंकको चुक्तापूँजी २१.३८ प्रतिशतले बढेर १२ अर्ब ९६ करोड ८७ लाख पुगेको छ। बैंकको जगेडा कोष केहि घटेको छ। जसको जगेडाकोषमा ९ अर्ब १४ करोड छ।
समीक्षा अवधिमा बैंकको निक्षेप १९.४३ प्रतिशत र कर्जा १७.४१ प्रतिशत बढेको छ। बैंकले यसअवधिमा एक खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ४७ अर्ब कर्जा लगानी गरेको छ । बैंकले यसअवधिमा ५ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेर ३ अर्ब ५४ करोड रुपैयाँ संचालन नाफा कमाएको छ ।
बैंकको खराब कर्जा ०।७७ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५ पैसा रहेको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया