एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल बन्यो झनै विशाल, लाभांश क्षमता कति ?

0
Shares

नबिल बैंक (NABIL) ले गत आर्थिक वर्षमा झण्डै ५ अर्ब रुपैयाँ खुद नाफा कमाएको । नेपाल बंगलादेश बैंकलाई गाभेको बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४ अर्ब ९७ करोड नाफा गरेको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा करिब १० प्रतिशत बढी हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । नबिल बैंकले १००: ४३ को अनुपातले एनबी बैंकलाई गाभेको थियो ।

नबिलको खुद नाफामा एनबि बैंकको एक अर्ब २ करोड रूपैयाँ देखाईएको छैन, जुन जगेडा कोषमा छ । असार मसान्तसम्म बैंकको जगेडामा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

नबिल बैंकले एनबी बैंकलाई गाभेर असार २७ गते एकीकृत कारोबार गरेको थियो। असार २६ सम्म एनबी बैंकले कमाएको नाफा बैंकको जगेडामा राखिएको हो ।

नबिलको वितरण गर्न मिल्ने रकम ९ अर्ब १२ करोड छ । बैंकको अवितरित नाफा ३ अर्ब ३७ करोड तथा एनबीलाई मर्ज गर्दा आएको व्यवसायिक लाभबाट ५ अर्ब ७४ करोड गरेर ९ अर्ब १२ करोड बाड्न मिल्ने रकम छ । यसबाट नबिल बैंकले सेयरधनीलाई ४० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी भने ६.७७ रुपैयाँ घटेर २६.८० रुपैयाँ कायम छ। चुक्तापूँजी बढेको अनुपातमा नाफा नबढ्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुगेको छ । मर्जर र अघिल्लो आवको बोनसका कारण चुक्ता पुँजी उच्चदरले बढेको हो ।

नबिल बैंकको निक्षेपको आकार ३ खर्ब २६ अर्ब पुगेको छ । यस्तै कर्जा ३ खर्ब १ अर्ब पुगेको छ । असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत छ । एनबीलाई प्राप्ति गरेकाले बैंकको निक्षेप तथा कर्जा उच्च रुपमा बढेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा भने बढेको छ । बैंकको खराब कर्जा ०.८४ प्रतिशतबाट १.५४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ यस अवधिमा २३०.३७ रुपैयाँ छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७९, शुक्रबार  ०७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।