आधा दर्जन बैंकको आधार दर दोहोरो अंक माथि, कर्जा महङ्गो हुने, कसको कति ?

0
Shares

गत आर्थिक वर्ष ०७८/०७९ को असारमसान्तसम्मा बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा सम्पूर्ण वाणिज्य बैंकहरुको आधारदर बढेको छ । अघिल्लो असारको तुलनामा सबै बैंकहरुको आधारदर बढेको हो ।

वित्तीय प्रणालीमा तरलता अभाव हुँदै आएपछि गतवर्षको साउनदेखि नै बैैंकहरुले ब्याजदर बढाउँदै आएका थिए । जसले गर्दा बैंकहरुको आधारदर समेत निरन्तर बढ्दै गएको हो ।

असारमसान्तसम्म आईपुग्दा आधादर्जन वाणिज्य बैंकहरुको अधारदर दोहोरो अंक माथि पुगेको छ । यस्तै १९ वाणिज्य बैंकको आधारदर ९ प्रतिशत माथि छ । ९ प्रतिशत भन्दा कम आधार हुने वाणिज्य बैंकको संख्या ६ रहेको छ । दुई बैंकको आधारदर मात्रै ८ प्रतिशत तल छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो असारको तुलनामा कुमारी, सिभलि, सेन्चुरी, सिटिजन्स, सनराइज र मेगा बैंकको दोहोरो अंकले बढेको छ । सबैभन्दा धेरै कुमारी बैंकको १०.५७ प्रतिशत पुगेको छ। सबैभन्दा कम आधारदर हुने राष्ट्रिय वाणिज्य बैंकको पनि ७.८६ प्रतिशत रहेको छ ।

लक्ष्मी, प्राइम, हिमालयन, माछापुच्छ्रे, बैंक अफ काठमाण्डू, सानिमा, नेपाल एसबिआई बैंकको ९ प्रतिशत माथि छ । यस्तै सिद्धार्थ, ग्लोबल, एनएमबि, एनआईसी एशिया, प्रभु र एनसीसी बैंकको पनि ९ प्रतिशत माथि छ ।

पाँच वाणिज्य बैंकको आधारदर ९ प्रतिशत भन्दा कम तथा ८ प्रतिशत भन्दा धेरै रहेको छ । कृषि विकास, एभरेष्ट, स्ट्याण्र्डड चार्टर्ड, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको ८ देखि ९ प्रतिशतकाबीचमा छ । यस्तै सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको छ । यी दुवै बैंकको ८ प्रतिशत भन्दा कम छ ।

बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याज समेत महङ्गो पर्नेगर्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याज लिने गर्दछन् । आधार दर जति बढी भयो कर्जाको ब्याज त्यति नै बढी हुनेगर्छ । बैंकहरुसँग कर्जा दिनका लागि आवश्यक रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढ्यो यसको असर कर्जाको ब्याजदरमा समेत परेको हो ।

औसतमा बैंकले आधारदरमा ५ प्रतिशतसम्म थप ब्याजदर लिन पाउँछन् । जुन बैंकको आधार ब्याजदर कम छ त्यो बैंकबाट सस्तो ब्याजदरमा ऋण पाउन सकिन्छ । जसको आधार ब्याजदर बढी छ त्यो बैंकबाट ऋण लिदा महंगो पर्छ । ऋण कसलाई दिने वा नदिने भन्ने अधिकार भने बैंकसँग रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा सस्तो ऋण पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाट पाइन्छ । त्यसपछि नेपाल बैंकको रहेको छ । सबैभन्दा महङ्गो कर्जा कुमारी बैंकमा पर्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७९, सोमबार  १२ : ०७ बजे