सयपत्री हाइड्रोको आईपीओ बाँडफाँड, ९५ प्रतिशतले पाएनन् सेयर

0
Shares

सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका ९५ प्रतिशत आवेदकको हात खाली भएको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा मंगलबार बिहान भएको बाँडफाँडमा करिब पाँच प्रतिशत अर्थात ६७ हजार ५८ जना आवेदकले मात्र सेयर पाएका हुन् । आईपीओमा आवेदन गरेकामध्ये १३ लाख ४६ हजार ५१४ जनाले सेयर नपाएका हुन् ।

कम्पनीको सेयरमा मागभन्दा उच्च आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । जसअनुसार कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये ६७ हजार ५८ जनाले मात्र सेयर पाए । निर्देशिका बमोजिम ६७ हजार ५८ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले ६ लाख ७० हजार ५८० कित्ता सेयर बाँडफाँड गरिएको हो । सर्वसाधारणबाट आवेदन मागिएको सेयर संख्यामध्ये यसरी बाँडफाँड गरी बाँकी रहेको ६ कित्ता सेयर गोलाप्रथाबाट १० कित्ता सेयर पाएकामध्येबाट पुनः ६ जनालाई थप १/१ कित्ता गरी कुल ११ कित्ता बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा दोहोरो आवेदन दिएका ८७३ वटा आवेदनबाट परेको १० हजार १४० कित्ता र स्थानीय बासिन्दाबाट परेको २३१ जनाको दोहोरो आवेदनबाट परेको कारण २ हजार ६९० कित्ताको माग रद्द गरिएको छ । यसरी कुल १ हजार १०४ वटा आवेदनबाट १२ हजार ८३० कित्ताको माग रद्द गरिएको हाे । आईपीओमा रितपुर्वक आवेदन दिएका १४ लाख १२ हजार ४६८ वटा आवेदनबाट परेको १ करोड ५४ लाख ८२ हजार ९६० कित्ताको मागलाई बाँडफाँडमा सहभागि गराइएको क्यापिटलले जानकारी दिएकाे छ ।

कम्पनीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको उक्त साधारण सेयरको आइतबार प्रि-अलटमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ६ लाख ७० हजार ५८६ कित्ता सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

कम्पनीको आईपीओ आवेदन गरेकामध्ये ९५ प्रतिशत अर्थात लाख हजार लगानीकर्ताको हात खाली भएको हो । अन्तिम तथ्याङ्कका आधारमा कम्पनीको आईपीओमा १४ लाख १३ हजार ५७२ वटा आवेदन मार्फत २३.१० गुणा धेरै अर्थात १ करोड ५४ लाख ९५ हजार ७९० कित्ताको माग परेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ साउन २०७९, मंगलबार  १० : १३ बजे