विद्युत प्राधिकरणको छलाङ, आम्दानी खर्ब नाघ्दा खुद नाफा १६ अर्ब माथि

0
Shares

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष (आव) २०७८/७९ मा खुद नाफामा उच्च वृद्धि गर्दै १६ अर्ब ९ करोड रुपैयाँ कमाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणको नाफा समीक्षा अवधिमा १६४ प्रतिशतले वृद्धि भएको हो । यो सँगै प्राधिकरण सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको बताए ।

‘ऊर्जा खपत २७ प्रतिशत वृद्धि हुँदा बिक्री आम्दानी बढ्यो,विद्युत निर्यात बृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहरुबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले वृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने ।

२०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव २०७६/७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युतका लक्ष्य आधा पनि भेट्न मुस्किल

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

विद्युत महसुल संकलन विनियमावली वमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ साउन २०७९, बिहीबार  ०९ : ०१ बजे