नेपाल टेलिकमको यसरी बढायो १ अर्ब २५ करोड खुद नाफा

0
Shares

नेपाल टेलिकम लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ मा ८ अर्ब ३८ करोड ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढेको हो । अघिल्लो आवमा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

नेपाल टेलिकमको गत आ.व. को चौथो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. को सोही अवधिसम्ममा १ अर्ब २५ करोड ६ लाख ४७ हजारले खुद नाफा बढेको हो । टेलिकमले गत आवको चौथो त्रैमासिक अवधि (२०७८ असार मसान्त) सम्मको कुल आय ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ असार मसान्त) सम्ममा कुल आय २ अर्ब ११ करोड १४ लाख ५४ हजार अर्थात् ५ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३२ करोड १३ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी नेपाल टेलिकमको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्म कुल सञ्चालन आय १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार अर्थात ५.४४ प्रतिशतले वृद्धि भई ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कुल सञ्चालन आय ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेको थियो ।

नेपाल टेलिकमको खुद नाफा साढे ८ अर्ब नजिक, साढे १७% बढ्यो

गत आवको चौथो त्रैमासिक अवधिसम्मको तुलनामा चालु आवको सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणमा कार्य सञ्चालन आयमा वृद्धि एक हो । डेटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएमतर्फ करिब ५० करोड रुपैयाँ वृद्धि भएको कम्पनीले जनाएको छ । यसैगरी फोरजी सेवाको व्यापक विस्तार गरिएका कारण जीएसएम भ्वाइस सेवाको प्रयोग वृद्धि भई करिब २ अर्ब ५५ करोड रुपैयाँ गत आवमा वृद्धि भएको छ ।

गैर कार्य सञ्चालन आयतर्फ बैंक ब्याजदरमा भएको परिवर्तनका कारण कम्पनीको ब्याज आम्दानी करिब ७७ करोडले वृद्धि भएको हो । यस्तै विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण करिब ३७ करोड रुपैयाँ वैदेशिक मुद्राको सटहीबाट आम्दानी (फरेन एक्सचेञ्ज गेन) भएको हो । यस्तै कम्पनीको लेखा नीति तथा आईएआरएस/एनएफआरएस बमोजिम इम्पेरिमेन्ट तथा फाइनान्स कस्टमा गत आ.व.मा भन्दा कमी आएको कम्पनीले जनाएको छ ।

तर गत आवमा कम्पनीको केही आम्दानी भने घटेको छ । अन्तरआबद्धता सम्बन्धी निर्देशिका अनुसार देशीय अन्तरआबद्धता शुल्क (ट्यारिफ) मा कमी आएको र ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब ७० करोडले कमी भएको छ ।

यस्तै वायरलेस सेवाको प्रयोगमा वृद्धि भएसँगै वायरलाईन सेवाको प्रयोग घटेकोले राजस्वमा करिब २१ करोडले कमी आएको कम्पनीले जनाएको छ । सिडिएमए सेवा जीएसएममा प्रतिस्थापन गरिएको हुँदा आयमा करिब १२ करोडले कमी आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७९, सोमबार  १३ : १४ बजे