
बहुराष्ट्रिय दूरसञ्चार कम्पनी, एनसेल आजियाटाको आम्दानी ३२ प्रतिशतले घटेको छ । सन् २०१८ मा ५९ अर्ब ८१ करोड ७ लाख आम्दानी गरेको एनसेलको सन् २०२२ मा आइपुग्दा ३२.४२ प्रतिशत घटेर ४० अर्ब ४२ करोड ४ लाख रुपैयाँमा सीमित भएको हो ।
एनसेलको आम्दानीमा मात्र गिरावट आएको छैन । आजभन्दा तीनवर्ष अघिसम्म नेपालको दुरसञ्चार क्षेत्रमा पहिलो कम्पनी रहेको एनसेल सन २०२२ सम्म आइपुग्दा बजार हिस्सा गुमाउँदै आएको छ । सन् २०१९ मा दुरसञ्चार क्षेत्रको कुल सेवा शुल्कको करिब ६४ प्रतिशत हिस्सा एनसेलको रहेकोमा सन २०२१ मा घटेर ५६ प्रतिशतमा सीमित भएको छ । यो अवधिमा एनसेलको प्रयोगकर्ताबाट आउने औसत रेभेन्यूमा पनि कबि १७ प्रतिशतले कमी आएको छ । एनसेलको प्रतिग्राहक औसत रेभेन्यू १७ प्रतिशतले घट्दा प्रमूख प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमको ८ प्रतिशतले मात्र गिरावट आएको छ ।
यो अवधिमा एनसेलको भ्वाइस तथा डाटा प्याकको प्रयोगकर्तामा कमी आएको कम्पनीले जनाएको छ । यो अवधिमा ब्रोड ब्याण्ड इन्टरनेटको प्रयोग बढेपछि डाटाबाट हुने आम्दानीमा कमी आएको कम्पनीको विश्लेषण छ । एनसेलका प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि आएता पनि जनरल सेलुलार मोबाइल (जीएसएम) बाट हुने आयमा आएको कमी, इन्टरनेट तीव्र रुपमा विस्तार हुँदा अन्तराष्ट्रिय कलबाट हुने आयमा कमी आएकाले आम्दानी घट्न पुगेको छ । यो अवधिमा एनसेलको अन्तराष्ट्रिय भ्वाइस कलमा कमी आएका कारणले पनि औसत ग्राहक रेभेन्यू घटेको हो । सन २०२१ मा एनसेलको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानीमा २३ प्रतिशतको कमी आएको छ । त्यतिमात्र नभई राष्ट्रिय भ्वाइस कलमा समेत ३ प्रतिशतले गिरावट आएको एनसेलले जनाएको छ ।
त्यसैगरी सन २०२२ को अप्रिलसम्ममा जीएसएम प्रयोगकर्ताको कुल संख्यामा ४१ प्रतिशतमा झरेको छ । यसभन्दा अघि एनसेलको यस्तो सेयर हिस्सा ४३ प्रतिशत थियो । यो अवधिमा एनसलका थ्रिजी र फोरजीका प्रयोगकर्ताको संख्या समेत उल्लेख घटेको छ । अहिले कुल थ्रिजी प्रयोगकर्ता मध्ये एनसेलका १८ प्रतिशत मात्रै रहेका छन् ।
त्यसैगरी कुल फोरजी प्रयोगकर्ता मध्ये एनसेलका प्रयोगकर्ता ३८ प्रतिशत रहेका छन् । यसभन्दा अघि एनसेलका थ्रिजी प्रयोगकर्ता २३ र फोरजी प्रयोगकर्ताको हिस्सा ६१ प्रतिशत रहेको थियो । तर, एनसलले पछिल्लो २१ महिनामा फोरजी प्रयोगकर्ताको कम्पाउण्ड वार्षिक वृद्धिदर ३७ प्रतिशत भएको जनाएको छ । यो अवधिमा नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता वार्षिक कम्पाउण्ड वृद्धिदर ३२१ प्रतिशत रहेको छ । यसले पनि एनसलको आम्दानीमा असर गरेको छ । सन २०२१ मा एनसेलको आम्दानी १४ प्रतिशतले घटेको छ ।
सन् २००५ बाट “मेरो मोबाइल” ब्रान्ड नाम गरी नेपालमा दूरसञ्चार सेवा प्रदान गर्दै आएको एनसेलको सन् २०१० मा ब्रान्ड नाम परिवर्तन गरी ८० प्रतिशत स्वामित्व सन् २०१६ बाट आजियाटाले लिएको छ । आजियाटाले स्वामित्वमा लिएको २ वर्षपछि नै एनसेलको आम्दानीमा कमी हुँदै गएको छ ।
सन् २०१८ देखि २०१९ को अवधिमा एन्सेलको आम्दानी ७ प्रतिशतले घटेको छ भने सन् २०१९ देखि सन् २०२० र २०२१ मा क्रमिक रुपमा १५ र १२ प्रतिशतले आम्दानीमा कमी आएको छ । आम्दानीमा कमी आउनुको कारणहरु एनसेल प्रयोगकर्ताले सुविधाहरु कम प्रयोग गर्दै जानु, बढ्दो प्रतिस्पर्धा, सेयर होल्डरहरुलाई उच्च प्रतिफल दिने प्रतिबद्धता, कम्पनीको तरलतामा आएको कमी, नियामक निकायमा आएको परिवर्तन तथा सेवा र गुणस्तर अभिवृद्धिमा पुँजीको व्यवस्थापन गर्न नसक्दा उत्पन्न प्राविधिक जोखिमहरु रहेका छन् ।
कम्पनीको आम्दानीमा कमी आएतापनि, सन् २०२० बाट एनसेलले लगानीकर्ताहरुलाई शतप्रतिशत लाभांश वितरण गरिरहेको छ । यसले गर्दा कम्पनीको सञ्चितिमा कमी आएको छ । कम्पनीको सञ्चितिमा आएको कमीका कारण समग्र वित्तीय अवस्थामा समेत असर पर्न सक्छ ।
गत वर्ष एनसेलको ऋण २७ अर्ब रहेको थियो भने यो वर्ष २८ अर्ब ६४ करोड ५ लाख ऋणको लागि एनसेलले क्रेडिट रटिङ एजेन्सी इक्राबाट पुनः पुष्टि पाएको छ । एनसेलले दीर्घकालीन ऋणका लागि ‘एल ए रेटिङ’ पाएको छ भने अल्पकालीन ऋणको लागि ए-१ रेटिङ पाएको छ ।
सन् २०२१ मा कम्पनीको कर, ब्याज भुक्तानी, डिप्रसियसन र एर्मोटाइजेसन भन्दा अघिको नाफा बराबर नै ऋण रहेको जनाएको छ । सन् २०२० मा यस्तो अनुपात ०.८ गुणा रहेको थियो । त्यसैगरी सन् २०२१ सम्ममा कम्पनीको सञ्चालन आम्दानीको डेब्ट सर्भिस कभरेज अनुपात ४.६ गुणा रहेको छ ।
सन् २०२० मा यस्तो अनुपात १४.३ गुणा रहेको थियो । कम्पनीको कार्यसम्पादन भन्दा पनि सबल संस्थागत सेयर लगानीकर्ता भएकाले कम्पनीको गुडविल तुलनात्मक रुपमा बलियो देखिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया