खुला सीमा नाकाको गलत प्रयोग गर्दै भारतीय व्यापारी, गैर भन्सार मार्फत नेपाली क्रेताकोमा सामान

0
Shares

नेपाल भारत खुला सिमानाका कारण नेपालीले मात्र नभई भारतीय व्यापारी पनि गलत प्रयोग गरेको पाइएको छ । भारतीय व्यपारीले चोरी पैठारी गरेर एक साताको अवधिमा नेपाली क्रेताको ठेगानामा सामान पुर्याउने गरेको भेटिएको हो ।

खुला सीमा नाकाको गलत उपयोग गर्दै व्यापारीले गैर भन्सारको बाटो प्रयोग गर्दा अर्बौको भन्सार शुल्क नोक्सानी हुने गरेको छ । सरकारको कमजोर अनुमगमनका कारण भारतका व्यापारीहरुले त्यहाँ किनेको सामानहरु गैर भन्सारको बाटो प्रयोग गरेर ७ दिनभित्र नेपालको क्रेताको ठेगानामा पठाइदिने गरेको एक अध्ययनमा पत्ता लागेको हो ।

राजस्व परामर्श समितिले सीमा नाकामा हुने चोरी पैठारी नियन्त्रणको प्रभावकारीता हेर्न अध्ययन गरेको थियो । समितिले यसै वर्ष पुरा गरेको अध्ययन प्रतिवेदन अनुसार भारतमा उत्पादित खाद्य पदार्थ लगायत अन्य घरायसी सामानहरु भन्सार नतिरी ल्याउँदा सस्तो पर्ने भएकोले सीमाक्षेत्रका वासिन्दा तथा व्यापारीहरुले अवैध रुपमा चोरी पैठारी गर्ने क्रम बढ्दो छ ।

अध्ययनमा भनिएको छ,“ चोरी पैठारीका कारण एकातिर राजस्वमा ठूलो चुहावट भइरहेको छ भने अर्कोतिर उत्पादित स्वदेशी वस्तुहरु पनि विस्थापित हुँदै गइरहेको स्थिति छ ।” भारतसंगको खुला सिमाना र सामाजिक सांस्कृतिक सम्बन्धका कारण सीमा वारपार तथा सामान ओसार पोसार सहजै हुन्छ । स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउन पनि चोरी पैठारी नियन्त्रण गर्न ठोस कदम चाल्नुपर्ने अध्ययनले औल्याएको छ ।

समितिले सीमानाकामा रहेका प्रमुख भन्सार नाकाहरुको स्थलगत अवलोकन र अनुगमन गरी अध्ययन गरेको हो । “सीमा नाका मार्फत हुने चोरी पैठारीमा अवैध कारोवारीहरुको प्रयोग अत्याधिक मात्रामा हुने गरेको छ,” प्रतिवेदनमा उल्लेख छ,“तिनीहरुले गैर भन्सार नाकाको प्रयोग गरेर सुरक्षाको दृष्टिकोणले कमजोर क्षेत्रबाट ठूलो मात्रामा चोरी पैठारी गर्ने गर्छन् । अवैध पैठारीमा सीमाक्षेत्रका वासिन्दाहरु मार्फत अबैध ओसार पसार, झोले पोके भरियाहरुको प्रयोग, गैर भन्सारको बाटो प्रयोग, रातको समय र कमजोर नाकाको उपयोग गर्ने गरेको पाइन्छ ।”

गैर भन्सारको बाटो तथा भन्सार मार्फत नै छली गरेर पैठारी हुने मुख्य वस्तुहरुमा चिनी, चक्लेट, लत्ता कपडा, कस्मेटिक्स, इलेक्ट्रिकल सामानहरु, तयारी खाद्यपदार्थहरु, सुर्तीजन्य पदार्थहरु रहेका छन् । त्यतीमात्र नभई धेरैजसो नाकाहरुबाट मोटर पार्ट्स, मोबाइलका पार्टस्, प्लास्टिकका सामानहरु, जुत्ता चप्पलहरु पनि चोरी पैठारी हुने गरेको अध्ययनका क्रममा भेटिएको छ । कतिपय सीमा नाकाबाट, सवारी साधन, टायल, मदिरा, हार्डवयेर्सहरु, खसी बोकाहरु समेत चोरी पैठारी हुने गरेका प्रतिवेदनमा उल्लेख छ ।

स्थलगत अनुगमन र छलफलका क्रममा चोरी पैठारी नियन्त्रणका लागि मुख्य समस्याको रुपमा फितलो अनुगमन अध्ययनले औल्याएको छ । त्यसैगरी छोटी भन्सार व्यवस्थापन, बोर्डर आउट पोष्टको प्राविधिक र नियमन क्षमतामा कमी भएकाले पनि चोरी पैठारी बढ्दै गएको अध्ययनले औल्याएको छ ।

पैदलयात्रीले सीमापारीबाट ल्याउने सामानको अव्यवहारिक छुटको सीमा, भन्सार कार्यालय र प्रहरी प्रशासनबीच समन्वयको अभाव, गैर भन्सार नाकामा कमजोर सुरक्षा व्यवस्था, अवैध ओसार पोसारमा झोलेपोके भरियाहरुको प्रयोग, पैदलयात्री मार्फत सीमापारीबाट ठूलो संख्यामा सामान पैठारी लगायतका समस्याहरु रहेको अध्ययनको निष्कर्ष रहेको छ ।

भन्सार कार्यालयले गर्ने गस्ती अनुगमन तथा सुरक्षा निकायसंगको संयुक्त गस्ती प्रभावकारी हुन नसकेको समेत अध्ययनको ठहर छ । अवैध कारोवारमा संलग्न हुनेहरुको पहिचान राष्ट्रिय अनुसन्धान तथा राजस्व अनुसन्धानबाट प्राप्त हुने भएतापनि कारबाही गर्न सहज नभएको समेत अध्ययनका क्रममा देखिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिम्मेवारीपूर्वक राजस्व चुहावटलाई प्राथमिकतामा राखेर काम गर्दा अबैध व्यापार धेरै हदसम्म रोक्न सकिने सम्भावना रहेको अध्ययनको सुझाव छ । बोर्डर आउट पोष्टमा आवश्यक पूर्वाधार, उपयुक्त जनशक्ति, नविनतम प्रविधि नभएकोले प्रभावकारी रुपमा काम गर्न नसकेको से अध्ययनले देखाएको छ ।

भन्सार नाकाको चेकजाँच संगसँगै बजार अनुगमनलाई पनि प्रभावकारी बनाइएमा चुहावट नियन्त्रण सहज हुने प्रतिवेदनमा उल्लेख छ । “बजार अनुगमन गरियो भने अवैध स्टक तथा गोदाम पत्ता लाग्ने हुनाले कारवाहीमा पर्ने डरले चोरी पैठारी न्यूनीकरण हुनजान्छ” अध्ययन प्रतिवेदनमा उल्लेख छ,“नियमनकारी निकायहरुवीच सहकार्य बढाउँदै संयुक्तरुपमा गस्ती र बजार अनुगमन गर्न सके यसबाट चोरी पैठारी नियन्त्रण कार्यमा राम्रो प्रभाव पर्न सक्ने देखिन्छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।