चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिका तुलनामा व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात साउनमा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड व्यापार घाटा व्योहोरेको थियो ।

चालु आवको पहिलो महिना साउनमा नेपालले एक खर्ब ३१ अर्ब २८ करोड मूल्यका सामान आयात गरेको छ। यो अवधिमा नेपालले १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ। आयात अघिल्लो वर्षको यही अवधिका तुलनामा १२.९ प्रतिशत र निर्यात २८.६८ प्रतिशतले घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले आयातमा कमी आएको हो ।
गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ।
साउनमा सबैभन्दा धेरै २५ अर्ब तीन करोडको इन्धनजन्य खनिज तेल र यस सम्बन्धी सामग्री आयात भएको छ। त्यसै गरी १३ अर्ब तीन करोडको फलाम र फलामजन्य सामान आयात भएको छ।
त्यस्तै, साउनमा २७ अर्ब ६५ करोडको कृषिजन्य वस्तु आयात भएको छ। यसअवधिमा २ अर्ब ४६ करोडको तरकारी, एक अर्ब ९० करोडको फलफूल आयात भएको छ।
सरकारले वैशाख यता डिजेल पेट्रोलका कार आयातमा प्रतिबन्ध लगाएसँगै गाडी आयात ह्वात्तै घटेको छ । अघिल्लो साउनमा १० अर्ब १४ करोड रुपैयाँको सवारीसाधन आयात भएकोमा चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ४ अर्ब ६४ करोड रुपैयाँको मात्रै आयात भएको छ ।
तर, यस अवधिमा विद्युतीय गाडीको आयात बढेको छ। एक महिनामा २११ वटा विद्युतीय गाडी भित्रिएका छन्। अघिल्लो वर्ष साउनमा १०५ वटा मात्रै गाडी आयात भएको छ। यसअवधिमा मोटरसाइकलको आयात पनि घटेको छ । १ महिनामा १८ हजार ७२४ मोटरसाइकल तथा स्कुटर आयात भएका छन्। । अघिल्लो वर्ष ३० हजार ८२१ आयात भएका थिए।
यसअवधिमा कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया