भारतसँगको व्यापारमा धेरै चोरी पैठारी हुने नाकामा वीरगञ्ज

0
Shares

भारतीय सीमामा रहेका व्यापारिक नाका मध्ये सबैभन्दा धेरै चोरी पैठारी हुने वीरगञ्ज पहिलो रहेको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकामा मात्रै एक हजार एक सय भन्दा धेरै चोरी पैठारीका मुद्दा दर्ता गरेको हो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्रै वीरगञ्ज नाकाबाट चोरी पैठारीको क्रममा समातिएका एक हजार एक सय ३० बटा मुद्दा दर्ता गरेको छ । मुद्दाको संख्याको आधारमा भारतसँग जोडिएका अन्य ब्यापारीक नाकाहरु मध्येकै धेरै रहेको विभागले जनाएको छ ।

भारतसँगको व्यपारमा विरगंज तुलनात्मक रुपमा ठुलो नाका भएकाले पनि चोरी पैठारी समेत धेरै हुने गरेको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७८/८९ को पहिलो ११ महिनाभित्र सबैभन्दा बढी मुद्धा वीरगञ्ज भन्सारमा दर्ता भएका छन् । भारतबाट आयात भएका अबैध सामानहरुलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, भन्सार कार्यालय तथा संयुक्त गस्तीबाट प्रक्राउ गरी कारबाहीको लागि मुद्धा दर्ता भएका हुन् ।

गत आर्थिक वर्षको पहिलो ११ महिनासम्म विरगञ्जमा ११३०, नेपालगन्जमा ७३७, विराटनगरमा ७०५, भैरहवामा ५१६, मेचीमा ४६७, कैलालीमा ४०५ र कृष्णनगरमा २७१ वटा मुद्धा दर्ता भएका छन् । मुद्धा दर्ताको हिसावले धेरै चोरी पैठारी हुने प्रमुख ५ सम्भाव्य सीमामा वीरगञ्ज, नेपालगन्ज, विरानगर, भैरहवा र मेची भन्सार कार्यालय देखिएका छन् ।

मुद्धाको संख्या बढी हुनु भनेको अवैध गतिविधि धेरै हुनु र सुरक्षा निकाय तथा राजस्व प्रशासन मार्फत समातिने दर बढी हुनु पनि हो । सबैभन्दा बढी मुद्धा दर्ता बोर्डर आउट पोष्टका सशस्त्र प्रहरीहरु मार्फत भएको छ । आर्थिक वर्ष २०७८/८९ मा भारतबाट मात्रै १२ खर्बको सामान आयात भएकोमा भारततर्फ १ खर्ब ५५ अर्बको मात्र निर्यात भएको छ । उक्त अवधिमा भारतसंगको व्यापार घाटा १० खर्ब ४५ अर्ब नाघेको छ ।

भारतबाट सामान आयात हुने समान मध्ये वीरगञ्ज भन्सारबाट मात्रै कुल आयातको ३६.७८ प्रतिशत हिस्सा रहेको छ । आर्थिक वर्ष २०७८/८९ मा उक्त नाकाबाट ७ खर्ब ६ अर्बको आयात भएको छ । वीरगञ्जपछि दोस्रो मुख्य नाका भैरहवा हो । भैरहवा भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७८/८९ मा २ खर्ब ९५ अर्बको सामान आयात भएको थियो ।

त्यसैगरी विराटनगर, नेपालगन्ज र मेची भन्सार पनि अन्य प्रमुख भन्सार नाका हुन् । पैठारी व्यापार हेर्दा वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगन्ज, मेची, सिर्सिया ड्राइपोर्ट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट कूल पैठारीको ९० प्रतिशत भन्दा बढी सामान आयात हुने गरेको छ ।

आर्थिक वर्ष २०७८/८९ मा नेपालका सबै भन्सार कार्यालयहरुबाट कुल ५ खर्ब ६ अर्ब राजस्व संकलन भएको विभागले जनाएको छ । यो राजस्व रकम वार्षिक लक्ष्यको ९५.५५ प्रतिशत हो । यो रकम कुल राजस्वको ४७.४२ प्रतिशत हुन आउँछ । राजस्व संकलनको दृष्टिकोणले वीरगञ्ज, भैरहवा र विराटनगर प्रमुख हुन् ।

आर्थिक वर्ष २०७८/८९ मा वीरगञ्ज भन्सारबाट २ खर्ब ४ अर्ब, भैरहवा भन्सारबाट १ खर्ब २७ अर्ब र विराटनगर भन्सारबाट ४० अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । उक्त अवधिमा नेपालगन्ज भन्सारबाट २२ अर्ब र मेची भन्सारबाट १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।