सरकारले अव बन्ने जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन वर्षातमै अझै बढी हुन सक्ने गरी प्रवर्दकलाई अवसर दिने भएको छ ।
वर्षायामै बढी भएको बिजुली निर्यातबाट उत्साहजनक परिणाम हासिल गरेसँगै सरकारले जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता निर्धारणका लागि कार्यान्वयन गर्दै आएको डिजाइन डिस्चार्जको क्यु क्राइटेरिया खुकुलो बनाउने भएको हो ।
मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रात तथा सिँचाई मन्त्री पम्फा भुसालले नेपालको जलस्रोतको उच्चतम सदुपयोग गर्ने गरी आयोजनाको क्षमता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिइन ।
“विगतमा विद्युत्को बजार छैन भन्दै कडा मापदण्ड राखिएको थियो होला तर अहिले अवस्था त्यस्तो छैन, क्षेत्रीय बजारमा बिजुली बेच्ने र स्वदेशमै पनि खपत विस्तार गर्न सक्ने अवस्था बनेको छ,” उनले भनिन ।
मन्त्रालयकै एक अध्ययन प्रतिवेदनले पनि अव प्रवर्दकले जनुसुकै डिजाइन डिस्चार्जमा आयोजनाको विकास गर्र्न सक्ने सुझाएको छ । हाल जलप्रवाही(आरओआर) तथा अर्धजलाशय युक्त आयोजनाको विद्युत् उत्पादन क्षमता निर्धारण गर्न अहिले क्यु ४० मापदण्ड कार्यान्वयन हुँदै आएको छ।
आयोजना बाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने अवधिको गणनाका आधारमा क्यु ४० अनुसार गणना गर्दा वर्ष भरमा न्युनतम ४० प्रतिशत समय पूर्ण क्षमतामा उत्पादन हुनु पर्ने हुन्छ । तर क्यु २५ मापदण्डमा जाँदा आयोजनाले २५ प्रतिशत समय पूर्ण क्षमतामा उत्पादन गरे पुग्छ ।
क्यु २५ मापदण्डमा जाँदा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले र वार्षिक ऊर्जा उत्पादन ४०.२ प्रतिशतले बढ्ने प्रतिवेदनमा औल्याएको छ । आयोजनाको औषत लागत पनि यसअनुसार कम पर्ने छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पीपीए सम्पन्न भइसकेर निर्माणको तयारीमा जान लागेका आयोजनालाई पनि क्षमता विस्तारको अवसर दिइनेछ ।
यसबाट प्राप्त हुने थप विद्युत्का लागि वर्षायाममा ३ रुपियाँ ६१ पैसा प्रतियुनिट हुनेछ । ६ हजार ७५० मेगावाट जडित उत्पादन क्षमता नुपगेसम्म नयाँ पिपीएका लागि दर पनि हालकै वर्षायाम ४.८० र सुख्खामा ८.४० नै कायम रहने जनाइएको छ ।
पत्रकारसम्मेलनमा घिसिङले अहिले थप ६ सय मेगावाट विद्युत् भारत निर्यातका लागि भारतसँग अनुमति लिन प्रक्रिया जारी रहेको जानकारी दिए । अहिले सत प्रतिशत बिजुली सदुपयोग भइरहेको उनले बताए ।
स्वदेशमै एक वर्षमा २५ प्रतिशत ऊर्जा खपत बढेको छ । “७ सय ४१ मेगावाट विद्युत् यो वर्ष थपियो, वर्षायाममा देशभित्रै बिजुली पुराउन कहिले काहिँ निर्यात पनि घटाउनु पर्ने अवस्था आउँछ,” उनले भने ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया