ऊर्जामन्त्री भुसाल र स्लोभाक गणतन्त्रका राजदूतबीच जल तथा मौसम विज्ञानका विषयमा छलफल

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत रोबर्ट म्यक्सियनले शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र जल तथा मौसम विज्ञानका विविध विषयमा छलफल भएको छ ।

सो अवसरमा मन्त्री भुसालले विगत २० वर्षदेखि दुई देशबीच रही आएको सुमधुर सम्बन्ध मित्रता, हार्दिकता, आपसी सहकार्य र सद्भावमा आधारित रहेको उल्लेख गर्दै युरोपेली सङ्घको सदस्य मुलुक स्लोभाकले नेपालको सामाजिक एवं आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति धन्यवाद व्यक्त गरिन् ।

विकास साझेदार मुलुकहरूको सहयोगमा नेपालले सुशासन एवं सामावेशी नागरिक सहभागिताको लक्ष्य मार्फत स्थितरता, प्रगति एवं दिगो विकासका लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जलवायु परिवर्तन एवं मौषम पूर्वानुमानका विषयमा स्लोभाकसँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताइन् ।

नेपालको आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन प्रवद्र्धन एक रहेको बताउँदै उनले उल्लेख्य मात्रामा नेपाल आउने स्लोभाक पर्यटकका कारण दुई देशबीचमा जनस्तरको सम्बन्ध विकास भएकोप्रति खुशी व्यक्त गरिन् ।

सो अवसरमा राजदूत रोबर्ट म्यक्सियनले नेपाल र स्लोभाक गणतन्त्र दुबै भुपरिवेष्ठित मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । आफ्नो देशमा मौसमजन्य प्रविधिको राम्रो विकास भएको जानकारी गराउँदै उनले स्लोभाकमा उत्पादन भएका राडार, पूर्वानुमानका पूर्वाधार विकासमा सहकार्य गर्न सकिने विश्वास दिलाए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।