सेयर लगानीकर्ता संघका तीन वटा अध्यक्षहरुले तीन तहको नयाँ ब्रोकर थप गर्ने व्यवस्था यथाशीघ्र मन्त्रिपरिदबाट पारित गरी लागू गर्न माग गरेका छन् ।
धितोपत्र बोर्डको सञ्चालक समितिबाट पास भई मन्त्रिपरिषद्मा पुगिसकेको अवस्थामा मन्त्रिपरिषदमा रहेका जिम्मेवार पदाधिकारीबाट सिन्डिकेट प्रथालाई नै निरन्तरता दिने खालका गतिविधि हुन आएको भन्दै उक्त प्रक्रिया अगाडि बढ्न नदिन विभिन्न खालका ढिलासुस्ति गरी रोकिए आन्दोलनामा जाने चेतावनी समेत दिएका हुन् ।
सेयर बजारमा क्रियाशिल तीन ठूला लगानीकर्ता संगठनहरु नेपाल इभेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै नेपाल सरकार, धितोपत्र बोर्डलाई सो चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, “विभिन्न मुलुकहरू जस्तैः भारत, सिंगापुर, बंगलादेश, श्रीलंका, अमेरिका लगायत विश्वभर प्रचलनमा रहेको ‘फ्रि इन्ट्रि– फ्रि एक्जिट’ को व्यवस्था रहि आएको सन्दर्भमा नेपालमा सीमित ब्रोकर राखि कारोबार भईरहेकोले उक्त धितोपत्र बोर्डबाट पारित ब्रोकर थप सम्बन्धी कार्य कुनै बहानाबाजी नगरी यथाशीघ्र पारित गर्न हामी सम्पूर्ण लगानीकर्ताको तर्फबाट आग्रह गर्दछौं ।”
नेपाल धितोपत्र बोर्डले तीन तहमा नयाँ ब्रोकर थप गर्न बोर्ड बैठकबाट ‘धितोपत्र व्यवसायी नियमावली २०६४’ संशोधित गरी पारित गर्नका लागि मन्त्रिपरिषदमा पठाएको थियो । तर हालसम्म पनि उक्त नियमावली क्याबिनेटबाट पारित हुन सकेको छैन । बोर्डले चुक्ता पुँजी २० करोड, ६० करोड र १ अर्ब ५० करोड हुनेगरी तीन तहमा ब्रोकर थप गर्नेगरी नियमावली संसोधन गरेको थियो ।
खबौं पुँजी भएको पुँजी बजारलाई सीमित ब्रोकरहरूबाट लामो समयदेखि सिन्डिकेटको वातावरण तयार गरी बजार विकास र विस्तारमा अवरोध गर्ने कार्य भईरहेको उनीहरुले आरोप लगाएका छन् ।
बोर्डबाट पास भई मन्त्रिपरिषद्बाट पास हुने उक्त संशोधित ‘धितोपत्र व्यवसायी नियमावली २०६४’ ढिलासुस्ति भएकोमा ५२ लाख लगानीकर्ताहरूमा संशय उत्पन्न भएको जनाइएको छ ।
तीन तहको नयाँ ब्रोकर थप भएको खण्डमा पुँजी बजार विकास र विस्तारमा कोशेढुङ्गा सावित हुने भन्दै उक्त प्रक्रिया अगाडि बढ्न नदिन विभिन्न खालका ढिलासुस्ति गरी रोकिएको अवस्थामा ५२ लाख आम लगानीकर्ताहरूको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
गठबन्धन सरकारले आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भनेपनि अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको सेयर बजारमा उत्साहमा कमी आउनुले जिम्मेवार निकायहरूको भनाई र गराईमा स्पष्ट फरक देखिएको उनीहरुको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया