चालू पुँजी कर्जाको सीमा तोकिँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ

0
Shares

चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ का सम्बन्धमा उद्योग सङ्गठन मोरङले आज एक अन्तक्रिया सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकले आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा सो मार्गदर्शन जारी गरेको हो ।

अन्तक्र्रियामा सङ्गठनका अध्यक्ष सूयश प्याकुरेलले नेपाल राष्ट्र बैंकले कर्जा उपयोगिताका विषयलाई सुक्ष्म निगरानी राखी पुँजी पलायन गर्नेलाई कारवाहीको दायरा ल्याउनु सान्दर्भिक भए पनि उत्पादनमूलक क्षेत्रको हकमा कुनै पनि किसिमको चालू पुँजी कर्जाको सीमा तोकिँदा उत्पादनमूलक उद्योगको सञ्चालनमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

वर्षमा एकपटक सिजनमा वर्षभरिलाई चाहिने कच्चापदार्थ खरिद गरी भण्डारण गर्ने प्रकृतिका उद्योगलाई कर्जा सीमा तोकिएमा बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताउँदै उनले कच्चा पदार्थ आयात गर्ने उद्योगका हकमा वस्तु उत्पादन, भण्डारण, बिक्री र बजारबाट पैसा आउन करिब छ महिना चालू पुँजी होल्ड हुने भएकाले यो मार्गदर्शनको कार्यान्वयनबाट उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने आशङ्का रहेको बताए ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका निर्देशक मीना पाण्डेले कुनै पनि नीति सार्वजनिक गर्दा त्यसको पृष्ठपोषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान मार्गदर्शन कुनै प्रकारको अप्ठ्यारा सिर्जना नहुने स्पष्ट पारिन । उनले नीति परिवर्तन हुँदा के हुने हो भन्ने डर सिर्जना हुनु स्वभाविक भएको बताउँदै राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ ले दीर्घकालीन कर्जा प्रवाहलाई सहज र पारदर्शी बनाई सबै क्षेत्रलाई फाइदा पुग्ने बताइन।

नेपाल बैंकर्स एशोसिएसन प्रदेश नं १ का अध्यक्ष विवेक निरौलाले इजाजतपत्र प्राप्त संस्थाले उद्यम व्यवसायको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ४० प्रतिशतले हुन आउने रकमसम्म कूल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने, वार्षिक कारोबार/बिक्रीको अधिकतम २५ प्रतिशतले हुन आउने रकमभन्दा बढी नहुने गरी कर्जा सीमा स्वीकृत गर्नुपर्ने जस्ता प्रावधानले दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पार्ने भएकाले उद्योगी÷व्यवसायी आतिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

कार्यक्रमममा सङ्गठनका पूर्वध्यक्ष शिवशङ्कर अग्रवाल, एशोसिएसन अफ चार्टर्ड एकाउन्टस अफ नेपाल ९एक्यान० का प्रदेश अध्यक्ष मनोज अधिकारी, सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, कार्यसमिति सदस्य सञ्जय अग्रवाल, तारानाथ निरौला, सुदीप घिमिरे, उद्योगी÷व्यवसायी लगायतको सहभागिता थियो ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ भाद्र २०७९, सोमबार  १४ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।