सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ ।
दाङको तुलसीपुरमा रहेको एक्त लघुवित्तलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । उक्त सूचना बैंकले बुधबार दिएको हो ।
यसअघि लघुवित्तमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको विशेष निरीक्षण गरेको थियो ।
उक्त निरीक्षण प्रतिवेदनको आधारमा सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्न प्रस्ताव गरिएको थियो । सोही प्रस्ताव बमोजिम राष्ट्र बैंक सञ्चालक समितिले लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको हो । लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्नुअघि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर स्पष्टिकरण समेत सोधिएको थियो ।
राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको उल्लेख गरिएको छ ।
यसैगरी लघुवित्तको प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको पाइएपछि केन्द्रीय बैंकले २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरीएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न उक्त संस्थालाई निर्देशन दिइएको थियो । स्पष्टिकरण स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया