काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर नलगाउन काठमाडौं खानेपानी आयोजना लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले आग्रह गरेको छ ।
खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भन्दै त्यस्ता कार्य नगर्न नगराउन आग्रह गरेकोे हो । 
आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको आरुबारीमा निर्माण सम्पन्न गरी संचालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराईमा खन्दा ट्याङ्कीको सुरक्षाका लागि निर्माण गरिएको आरसिसि पर्खाल भत्किन गई खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको जनाएको छ ।
खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि यस आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । निर्देशनालयद्धारा विज्ञप्तिमा भनिएको छ ।
निर्देशनालयको आग्रह विपरित डोजर लगाई खानेपानीका संरचनामा क्षति पु¥याउनेहरुले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति समेत तिर्नुपर्ने आयोजना उपनिर्देशक ई. चन्द्रकुमार पाँ श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी सर्वसुलभरुपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ खानेपानी ट्याङ्की निर्माण गर्दै जाने क्रममा विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य जारी रहेको पनि जनाएको छ ।
जस अनुसार, तीनचुली महाङ्कालमा ८० लाख लिटर क्षमताको, न्यू महाङ्कालमा १३ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर, गोल्फुटारमा २ लाख १० हजार लिटर र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्कीहरु निर्माण भइरहेको बताएको छ ।
यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्याङ्कीहरु निर्माण सम्पन्न भई हाल संचालनमा रहेको छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया