अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले तेस्रो पटक औसत ब्याजदर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव विश्व सेयर बजारमा देखा परेको छ ।
फेडले ०.७५ प्रतिशतले तेस्रो पटक औसत ब्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा यतिबेला विश्व सेयर बजारमा ‘सेलअफ’ को श्रृङ्खला चलिरहेको छ ।
जापान बाहिरको एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआई बुधबार २.१ प्रतिशतले ओरालो लागेको छ । यसैगरी हङकङको ह्याङस्याङ सूचांक २.४ प्रतिशतले घटेको छ । चिनियाँ ब्लुचिप्स सूचांक पनि १ प्रतिशतले घटेको छ भने जापानी सेयर सूचांक निकेई २.३ प्रतिशतले घटेको छ ।
यसैगरी ओभरनाइट सेलअफपछि डाउ जोन्स इन्डस्ट्रीयल एभरेज ३.९४ प्रतिशतले घटेको छ भने एसएन्डपी–५०० सूचांक ४.२ प्रतिशतले घटेको छ । यसैगरी नास्डाक कम्पोजिट ५.१६ प्रतिशतले ओरालो लागेको छ । यसैगरी अष्ट्रेलियाको सेयर सूचांक पनि २.७ प्रतिशतले घटेको छ ।
बुधबार प्रकाशित गरिएको अगस्ट महिनाको उपभोक्ता मूल्य सूचांक ०.१ प्रतिशतले वृद्धि भई ८.३ प्रतिशत पुगेपछि लगानीकर्ताहरु अत्तालिन पुगेका छन् । मूल्यवृद्धि नियन्त्रणका लागि आफूहरुले जस्तोसुकै समस्या पनि भोग्न तयार रहेको जनाउँदै फेडका अध्यक्ष जेरोम पावेलले आगामी बुधबार बैठक बसी औसत ब्याजदर बढाउने निर्णय गरेका छन् ।
सेयरबजार ओरालो लाग्दा अमेरिकी ट्रेजरी इल्ड १५ वर्ष यताकै उच्च हुन पुगेको छ । दुई वर्षे ट्रेजरी इल्डको कुपन रेट वृद्धि भएर ३.८०४० प्रतिशत हुन पुगेको छ भने १० वर्षे ट्रेजरी नोटको कुपन रेट बढेर ३.४२७३ प्रतिशत हुन पुगेको छ । वाल स्ट्रिट दुई वर्ष यताकै कम विन्दुमा पुगेको बेला डलर सन् २०२० यताकै उच्च हुन पुगेको छ ।
यसैगरी विस्तारकारी मौद्रिक नीति अवलम्बन गरिरहेको जापानसँगको विनिमयमा डलर २४ वर्ष यताकै उच्च भएको छ । आज १ डलर बराबर १४४.४ जापानी येन विनिमय भइरहेको छ । जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिक नीतिका कारण येन यतिबेला समस्याग्रस्त रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया