प्राधिकरणले लागू गर्‍यो एमडिएमएस प्रणाली‚ मोबाइलको अवैध आयात रोकिने 

0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । प्राधिकरणले भदौ ३० गते बिहीबार एमडिएमएस प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की‚ सचिव वैकुण्ठ अर्याल‚ भन्सार विभागका महानिर्देशक‚ अर्थ मन्त्रालय प्रतिनिधि लगायतको उपस्थितिमा एमडिएमएस बिहीबार सार्वजनिक गरिने भएको हो । 

चार वर्षअघि नै पूर्ण रुपमा कार्यान्वयनमा आइसक्नुपर्ने भएपनि सरकारी उदासीनता तथा एमडिएमएसको सफ्टवेयर र हार्डवेयर उपकरणहरू नेपाल आएर जडानमा समय लाग्दा कार्यान्वयनमा ढिलाई भएको हो । ८० करोड लागतको उक्त प्रोजेक्ट अब भने औपचारिक रुपमा सार्वजनिक गर्ने भएको हो । चावहिलमा रहेको भवनमा उपकरणहरू जडान भइसकेका छन् । हाललाई राष्ट्रिय सूचना प्रविधि केन्द्र नेपालको गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टर ( जीआइडीसी ) मा रहेको डेटा सेन्टर उपयोग गरिने भएको छ ।

 

एमडिएमएस प्रणाली लागू भएसँगै नेपालमा अनधिकृत रूपमा वा गैरकानूनी रूपमा मोबाइल फोनहरू आयात हुने समस्यालाई नियन्त्रण हुने दूरसञ्चार प्राधिकरणको भनाई छ । उक्त प्रणाली लागू भएपछि अवैध रूपमा आयातित मोबाइल फोनहरू चल्दैनन् भने वैध तरिकाले राजश्व तिरेर भित्र्याएका मोबाइल मात्रै चल्छ ।

प्राधिकरणले यसअघि विविध तरिकाले भित्रिएका सबै फोन रजिस्टर गर्न एसएमएस माफर्त निश्चित समयावधि दिने र सो समयमा रजिस्टर नभएको खण्डमा भने त्यस्ता फोनलाई ब्लक गर्नेछ ।  एमडिएमएस लागू भएसँगै सरकारको राजस्व समेत बढ्नेछ । हाल ब्यापारीहरूले अवैध बाटोमा पनि थुप्रै  फोन भिर्त्याइएको हुनाले अबदेखि त्यस्ता फोनहरूको भन्सार शुल्क असुली हुने हुँदा राजस्व बढ्ने भएको हो । यो प्रणाली लागू भएसँगै अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने प्राधिकरणको विश्वास छ ।

यो प्रणाली कार्यान्वयनमा आएपछि भदौपछि नेपाल भित्रने मोबाइल दर्ता हुनैपर्ने प्राधिकरणले जनाएको छ । अब विदेशबाट ल्‌याएको मोबाइल दर्ता गराएर मात्रै चलाउन पाउने व्यवस्था हुने भएको छ । भदौ अघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नुपर्ने छैन । असोज लागेपछि भन्सार छली गरेर ल्‌याइएको  तथा विदेशबाट ल्‌याइएको मोबाइल समेत प्रणालीबाटै स्वत: ब्लक हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।