चालु खाता १६ अर्ब र शोधनान्तर साढे २२ अर्ब घाटामा, अघिल्लो वर्षको तुलनामा भने दुबैमा सुधार

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा चालु खाता र शोधनान्तर स्थिति दुबै घाटामा रहेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने सुधार भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार २०७९ साउनमा चालु खाता १६ अर्ब २६ करोडले घाटामा रहेको छ । यस अवधिमा शोधनान्तर स्थिति (देशको भित्रिने र बाहिरिने रकम बीचको अन्तर) २२ अर्ब ६३ करोडले घाटामा रहेको छ ।

अघिल्लो आवको पहिलो महिनामा चालु खाता ४७ अर्ब २९ करोडले घाटामा रहेको थियो भने शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा  थियो । समीक्षा अवधिमा चालु खाता घाटा ३१ अर्ब ३ करोड र शोधनान्तर घाटा १६ अर्ब १२ करोडले सुधार भएको हो ।

यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १२ करोड ७७ लाखले घाटामा रहेको छ । यस्तै अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा सुधार भई १७ करोड ७७ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई ८० करोड ३ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोडले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ करोड ६ लाख रहेको थियो ।

पहिलो महिनामा नेपालले एक खर्ब ३१ अर्ब २९ करोडको वस्तु आयात गरेको छ भने १४ अर्ब ८१ करोडको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्षका तुलनामा आयात र निर्यात दुबै खस्किएको हो। कच्चा भटमासको तेल, मोटरगाडी आदिको आयातमा उल्लेख्य गिरावट आएको छ ।

सरकारले यसअघि १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएकोमा हालै त्यसमध्ये मदिरा, निश्चित मापदण्ड माथिका गाडी, मोटरसाइकल, स्मार्टफोन लगायतको प्रतिबन्ध कायमै राखेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  १७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।