आयात प्रतिबन्धका बाबजुद विदेशी मुद्रा सञ्चिति साउनमा १२ करोड डलरले घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति १२ करोड डलरले घटेको छ । सरकारले आयातमा कडाई गरेपनि आयात नियन्त्रणका बाबजुद विदेशी सञ्चिति भने घट्दो क्रममा देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेकोमा २०७९ साउन मसान्तमा १.२० प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको हो ।

नेपाली रुपैयाँका आधारमा असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ सञ्चिति रहेकोमा साउनमा घटेर १.५० प्रतिशत अर्थात १७ अर्ब ९५ करोड रुपैयाँले कमी आई २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा खुम्चिएको छ ।

पेट्रोलिय पदार्थको भुक्तानी, विदेश भ्रमण तथा अध्ययनको लागि हुने सटही र मुलुकबाट हुने निर्यातमा वृद्धि हुन नसक्दा सञ्चिति घटेको हो ।

नेपाल आयल निमगले भारतीय आयल निगमलाई रोकेको भुक्तानी समेत असारमा तिरेको छ । यस बाहेक विदेश भ्रमण तथा अध्ययनको लागि रकम बाहिरीदा समेत आम्दानी र खर्चबीच असन्तुलन बढेको हो । चालु आवको पहिलो महिनामा मात्रै शिक्षाको लागि ७ अर्ब र शिक्षा सहित विदेश भ्रमणमा १० अर्ब रुपैयाँ बाहिरिएको तथ्याङ्क राष्ट्र बैंकको छ ।

यस्तै मुलुकबाट आयातको लागि बाहिरीने रकम ठूलै भएपनि निर्यातमा वृद्धि हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार साउन महिनासम्म साउनमा निर्यात समेत २८.७० प्रतिशतले घटेर १४ अर्ब ८१ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९० प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

यद्यपी आर्थिक वर्ष २०७९।८० को पहिलो महिनाको आयातलाई आधार मान्दा उक्त विदेशी मुद्रा सञ्चितिले आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले २०७९ वैशाखमा सवारीसाधन, मोइबाल, मदिरा, चुरोट, सुर्ति, कुरकुरे–कुरमुरे, तास लगायत १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । भदौ १४ गतेदेखि भने केही वस्तुको आयात प्रतिबन्ध फुकुवा गरी निश्चित मापदण्ड माथिका गाडी र मोटरसाइकल, मदिरा तथा महङ्गा मोबाइल फोन (स्मार्टफोन) को आयात प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याइएको छ ।

आयात प्रतिबन्ध फुकुवा गरेपनि पहिले जसरी आयातलाई फुक्का गर्न सकिने अवस्था नरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अहिले पनि राष्ट्र बैंकले करिब २७ सय वस्तु आयत गर्दा ५० प्रतिशतदेखि शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था कायमै राखेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।