एसएलएफको अवधि बढाउन बैंकहरुको आग्रह, दशैं बिदामा पनि राष्ट्र बैंक खुल्न सक्ने

0
Shares

नेपाल राष्ट्र बैंकलाई बैंकहरूले स्थायी तरलता सुविधा (एसएलएफ) अवधि बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठनहरुले दशैँ बिदाको समयमा एसएलएफ अवधि बढाउन आग्रह गरेका हुन ।

बैंकर्स संघ, विकास बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले नेपाल राष्ट्र बैंकलाई दशैँको अवधिमा एसएलएफ सुविधा लिन नपाइने भएकाले त्यसलाई सहजीकरण गर्न पत्राचार गरेका हुन । उनीहरूले दशैँ बिदाको बिचमा एसएलएफ नपाइने हुँदा तरलता समस्या पर्न सक्ने भएकाले यस्तो अनुरोध गरेका हुन ।

राष्ट्र बैंकले लामो समय विदा पर्ने भयो भने विदा भन्दा अघिल्लो दिन राफसाफ हुने गरी मात्र एसएलएफ दिन्छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले लगेको सबै एसएलएफ असोज १४ गते परिपक्क हुन्छ । असोजको १५ गते देखि २२ गते सम्म दशैँ बिदा भएकाले १४ गते एसएलएफ भुक्तानी गर्दा बैंकहरूलाई तरलता व्यवस्थापन गर्न जटिल हुन्छ । त्यसैले तरलता समस्यालाई सहज बनाउन एसएलएफको अवधि बढाउने वा बिदाको बिचमा राष्ट्र बैंक खोल्न बैंकहरूले अनुरोध गरेका हुन ।

विदाको विचमा एक दिन केन्द्रीय बैंक खोल्ने वा एसएलएफको सात दिनको अवधिमा बढाएर एक पटकका लागि ९ दिनको बनाउन आग्रह गरेका छन । सो सन्दर्भमा मंगलबार नेपाल राष्ट्र बैंक र बैंकहरूबीच छलफल तय गरिएको छ

। एसएलएफको अवधि घटाएको हुनाले पनि त्यो अवधि बढ्छ भन्दा पनि बिदाको दिनमा पनि आवश्यकता अनुसार बजार सञ्चालन गर्न सकिने सम्भावना रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । एसएलएफको समयावधि बढाउने विषयमा नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नै निर्णय गर्नुपर्ने बताउँदै ती अधिकारीले भने, “विदाको दिनमा पनि कार्यालय खोल्ने विषयमा गभर्नरको निर्णयबाट हुन सक्ने भएकाले त्यो सम्भावना रहन्छ ।”

चालु आर्थिक वर्षको मौद्रिक नीतिले एसएलएसफको अवधिलाई घटाएर ५ दिनको बनाएको छ । नेपाल राष्ट्र बैंक त्यसलाई कार्यान्वयन गर्ने प्रयोजनका लागि खुलाबजार कारोबार सञ्चालन विनियमावली र कार्यविधि संशोधनको प्रक्रियामा छ । संशोधन नहुँदासम्मका लागि केन्द्रिय बैंकले एसएलएफको अवधि सात दिन नै दिदै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार  १८ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।