शिखर इन्स्योरेन्स १९ औं वर्षमा, ४८१ करोडको नेटवर्थ सहित सेयरधनीलाई २७५% प्रतिफल

0
Shares

शिखर इन्स्योरेन्स १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रबाट प्रवर्द्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी ४८१ करोड नेटवर्थ सहित निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ ।

स्थापनाको १८ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयर गरी सर्वाधिक २७५ प्रतिशतको सेयरधनी प्रतिफल प्रदान गरेको छ ।

विसं २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा सेवा शुभारम्भ गरेको कम्पनीले स्थापनाको छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको हो ।

दश करोडको चुक्ता पुँजीबाट स्थापना भएको शिखर इन्स्योरेन्स को हाल २ अर्ब २८ करोडको चुक्ता पुँजी रहनुका साथै ४ अर्ब ८१ करोडको नेटवर्थ पुगेको छ । चुक्ता पुँजी र नेटवर्थ मात्र होइन शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सूचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ ।

शिखर इन्स्योरेन्सले आ.व. २०७८।७९ मा नेपालको निर्जिवन बीमा क्षेत्रमै पहिलोपटक ५०० करोड भन्दा बढीको बीमा शुल्क संकलन गरी ऐतिहसिक सफलता हासिल गरेको थियो । स्थापनाको १८ वर्षको अवधिमा शिखरले १७ अर्ब बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ ।

दुर्गम भेगमा सहित ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा

निर्जीवन बीमा कम्पनीहरुमध्ये अग्रणी शिखरले ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले सुगम क्षेत्रमा मात्र होइन जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत सेवा प्रवाह गर्दै आइरहेको छ ।

साथै बीमाको क्षेत्रलाई विस्तार गर्न नेपालको भौगोलिक तथा आर्थिक आवश्यकता अनुरुपको बीमालेख जारी गर्ने कार्यमा समेत शिखर इन्स्योरेन्सको उल्लेखनीय योगदान रहेको छ ।  नेपालमा मौसमी सूचकांकमा आधरित कृषि बीमा, सुचकांकमा आधरित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले मात्र प्रदान गर्दै आएको छ ।

मौसमी सुचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण युकेएडबाट २०१९ मा ५० हजार पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गरेको छ ।  आगामी दिनमा समेत शिखर इन्स्योरेन्सले कृषि तथा पशुपंक्षी बीमामा देशको आवश्यकता अनुरुप नविन बीमालेख सहित कृषि बीमाको विस्तार गर्नुका साथै देशभर स्वास्थ्य बीमाको विस्तार गर्ने योजना रहेको छ ।

१८ वर्षको अवधीमा कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गरेको छ । नेपालमा ए रेटिङ (इक्रा एनपी) प्राप्त गर्ने एक मात्र बीमा कम्पनीका रुपमा रहेको शिखर इन्स्योरेन्सले नेपाल सरकार कृषि विभागबाट “कृषि बीमा तथा दाबी फछ्र्यौट गर्ने उत्कृष्ट बीमा कम्पनी”को रुपमा समेत पुरस्कृत भएकोे छ । यस्तै विभिन्न संस्थाहरुबाट विभिन्न वर्षहरुमा ‘बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी’ तथा ‘इन्स्यारेन्स कम्पनी अफ दिन इयर’ बाट समेत पुरस्कृत हुँदै आएको छ ।

साथै नेपाल सरकारबाट आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुनुका साथै नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि.बाट सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा समेत सम्मानित हुँदै आएको छ ।
आगामी दिनहरुमा कम्पनीका कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी बीमा क्षेत्रको थप विकास गर्न स्वास्थ्य, कृषि तथा मौसम परिवर्तनसँग सम्बन्धित जोखिम लगायत राष्ट्रको आवश्यकता अनुरुपको बीमालेख जारी गरी डिजिटल ट्रान्फरमेसन सहित बीमाको विस्तार तथा बीमाको पहुँच अभिवृद्धि गर्दै जाने योजना रहेको छ ।

वार्षिकउत्सवमा साताब्यापी रक्तदान कार्यक्रम

शिखर इन्स्योरेन्सले १८ औं वार्षिकउत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान सप्ताह कार्यक्रम आयोजना गरेको छ । निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कायक्रम नगरी यसपटक वार्षिकोत्सव मनाइएको कम्पनीको भनाई छ ।

कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै प्रदेशमा सम्पन्न हुने रक्तदान कार्यक्रममा मंसिर १ गतेसम्म बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी ११ भन्दा बढी व्यक्तिले रक्तदान गरिसकेको कम्पनीले जनाएको छ । मंसिर २ गते शुक्रबारसम्ममा करिब १५ सय व्यक्तिहरुबाट रक्तदान गर्ने अपेक्षा कम्पनीको छ ।

साथै कम्पनीले वार्षिकउत्सवको उपलक्ष्यमा कम्पनीको सफलतामा साथ तथा योगदान प्रदान गर्नुभएका विमित महानुभावहरु, कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर, शेयरधनी महानुभावहरु, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियमनकारी निकायहरुमा धन्यबाद दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।