नेपालको सार्वजनिक ऋण बढ्दै गएसँगै त्यसका लागि हरेक वर्ष तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि थपिँदै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा मात्र नेपालले कुल एक खर्ब २१ अर्ब ऋण तिरेको छ ।
महालेखा नियन्त्रक कार्यालयले गत आव २०७८/७९ को विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोषको आन्तरिक लेखापरीक्षण गरी तयार पारिएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको थियो ।
उक्त प्रतिवेदनअनुसार गत आवमा नेपालले आन्तरिक ऋणको साँवा ४७ अर्ब ३३ करोड ७८ लाख र ब्याज ३७ अर्ब ५८ करोड ६८ लाख गरी कुल ८४ अर्ब ९२ करोड ४६ लाख भुक्तानी गरेको छ । बाह्य ऋणको साँवा २९ अर्ब ४१ करोड ५८ लाख साँवा र ब्याज सात अर्ब ४४ करोड २० लाख गरी कूल ३६ अर्ब ८५ करोड ७८ लाख भुक्तानी भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आव २०७८/७९ सम्ममा नेपाले तिर्न बाँकी कूल ऋण २० खर्ब ११ अर्ब ९५ करोड ४१ लाख बराबर रहेको छ । अघिल्लो आव २०७७/७८ मा यस्तो ऋण १७ खर्ब ३७ अर्ब ६३ करोड ६८ लाख बराबर रहेको थियो । अर्थात् गत आवमा मात्र नेपालको सार्वजनिक ऋण दुई खर्ब ७४ अर्ब ३१ करोड ७३ लाख थपिएको छ । अहिले नेपालले तिर्न बाँकी ऋणमध्ये नौ खर्ब ८६ अर्ब १० करोड ७० लाख आन्तरिक ऋण र १० खर्ब २५ अर्ब ८४ करोड ६१ लाख बराबर बाह्य ऋण रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया