नेपालको अनौपचारिक क्षेत्रका कार्यरत श्रमिकलाई पनि नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने भएको छ । यस्ता श्रमिकले कोषमा भुक्तान गर्ने पर्ने योगदान रकममा सरकारले राहत प्रदान गर्ने कोषले जनाएको छ ।
अनौपचारिक क्षेत्रका कामदारलाई कोषमा आबद्ध गर्न निर्माण गरिएको कार्यविधिमा संघ, प्रदेश र स्थानीय सरकारलेमध्ये कुनै एकले निश्चित रकम राहत प्रदान गर्ने कोषले जनाएको छ । कोषका अनुसार कार्यविधिमा सरकारले सहयोग रकम प्रदान गर्ने व्यवस्था गरिएको छ । बाँकी व्यवस्था सरकारको निर्णय बमोजिम हुनेछ ।
वैदेशिक रोजगारीमा गएका कामदार पनि आज देखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने
कोषका अनुसार श्रमिकले सामाजिक सुरक्षा कोषमा नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकहरुको लागि तोकेको न्युनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । सो रकममध्ये निश्चित प्रतिशत सरकारको अनुदान रहने कोषले जनाएको छ ।
यस्ता श्रमिकले कोषले सञ्चालनमा ल्याएको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना सुविधा प्राप्त गर्नेछन् । औषधी उपचार सुविधा बापत श्रमिकले वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त गर्नेछन् ।

त्यस्तै, मातृत्व सुरक्षा अन्र्तगत १५ हजार शिशु स्याहार खर्च र ९८ दिनको बराबरको पारिश्रमिक सुत्केरी स्यहार बापत रकम प्राप्त गर्नेछन् । दुर्घटना उपचार बापत ७ लाखसम्म रुपैयाँसम्मको सुविधा पाउनेछन् भने अशक्तताको प्रतिशतको आधारमा मासिक पाँच हजार ६६० पेन्सनको पाउनेछन् । त्यस्तै, श्रमिकको मृत्यु भएमा आश्रित परिवारले पेन्सन बापत मासिक तीन हजार ७५४ रुपैयाँ प्राप्त गर्नेछन् । मृतक श्रमिकको १८ वर्ष मुनिका छोराछोरी २१ वर्षसम्म अध्ययनका लागि मासिक तीन हजार ७५४ शैक्षिकवृति प्राप्त गर्नेछन् । अन्तिम संस्कारका लागि २५ रुपैयाँसम्म कोषले भुक्तानी गर्नेछन् । कोषमा जम्मा भएको रकम र सोको प्रतिफल समेत पाउनेछन् । जम्मा भएको रकमको निश्चित प्रतिशत निकाल्न र बाँकी रकम पेन्सनमा जान सक्ने सुविधा समेत कोषले उपलब्ध गराएको छ ।
त्यस्तै, अब देखि स्वरोजगार व्यक्ति पनि कोषमा जोडिने भएका छन् । स्वरोजगारमा रहेको व्यक्तिले नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि निर्धारण गरेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम योगदान गर्नुपर्नेछ । स्वरोजगार व्यक्तिले चाहेमा सो रकमको बढिमा तीन ३ गुणासम्म कोषमा योगदान गर्न सक्नेछन् ।
६२ प्रतिशत कामदार अनौपचारिक क्षेत्रमा
नेपाल लेबर फोर्स सर्भे २०१७/१८ का अनुसार नेपालमा रहेका कामदारमध्ये ६२.२० प्रतिशत अनौपचारिक क्षेत्रमा छन् ।
७० लाख ८६ हजार कामदार रोजगारीमा छन् । जसमध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० हजार महिला छन् । रोजगारीमा रहेकामध्ये २६ लाख ७५ हजार औपचारिक क्षेत्रमा छन् । जसमा महिलाको संख्या आठ लाख ८४ हजार छ भने पुरुषको संख्या १७ लाख ९२ हजार छ ।
औपचारिक क्षेत्रमध्ये कृषि क्षेत्रमा ९० हजार रोजगारीमा छन् । जसमा पुरुषको संख्या ५९ हजार छ भने महिलाको संख्या ३२ हजार छ । गैर कृषि क्षेत्रमा भने कुल २५ लाख ८६ हजार रोजगारीमा छन् । जसमध्ये पुरुषको संख्या १७ लाख ३४ हजार छ भने महिलाको संख्या आठ लाख ५२ हजार छ ।
अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार रोजगारीमा छन् । जसमध्ये २६ लाख ५५ हजार पुरुष छन् भने १७ लाख ५६ हजार महिला छन् । अनौपचारिक क्षेत्रमध्ये कृषि क्षेत्रमा १४ लाख ३४ हजार रोजगारीमा छन् । जसमध्ये पाँच लाख ९५ पुरुष र आठ लाख ३९ हजार महिला छन् । गैरकृषिमा २० लाख ३५ पुरुष छन् भने आठ लाख ६९ हजार महिला छन् । नीजि घरेलु काममा भने २५ हजार पुरुष छन् भने ४८ लाख महिला छन् ।
तथ्यांक अनुसार अनौपचारिक क्षेत्रको म्यानेजर पेशामा सात हजार रोजगारीमा छन् । कृषि क्षेत्रमा दुई हजार र गैरकृषि क्षेत्रमा पाँच हजार छन् । पेशागत रुपमा २३ हजार छन् । टेक्निसियनमा ५५ हजार रोजगारीमा छन् । सर्भिस एण्ड सेल्स पेशा अन्र्तगत कृषि क्षेत्रमा चार हजार, गैरकृषिमा क्षेत्रमा नौ लाख १२ हजार र निजी घरेलु काममा ११ हजार छन् ।
दक्ष कृषि, वन र फिसरी पेशा अन्तरगत कृषि क्षेत्रमा नौ लाख १५ हजार, गैरकृषिमा तीन लाख र नीजि घरायसीमा दुई हजार छन् । क्राफ्ट एण्ड ट्रेड काममा कृषि क्षेत्रमा नौ लाख, गैरकृषि क्षेत्रमा ११ लाख १६ र नीजि घरेलुमा दुई हजार छन् । प्लान्ट एण्ड मेसिनरी अपरेटरमा कृषि क्षेत्रमा २२ हजार, गैरकृषि क्षेत्रमा एक लाख ५२ हजार रोजगारीमा छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया