सुरक्षा कोषले योगदानकर्तालाई दियो ४० करोड रुपैयाँ सापटी

0
Shares

समाजिक सुरक्षा कोषले कोषमा आबद्ध भएका योगदानकर्ताकालाई ४० करोड रुपैयाँ कर्जा तथा सापटी वितरण गरेको छ । कोषले गत असोजदेखि योगदानकर्तालाई कर्जा तथा सापटी सुविधा प्रदान गर्न थालेको हो । कोषले सापटी कर्जा निर्देशिका निर्माण गरी योगदानकर्तालाई घर सापटी, शैक्षिक सापटी, सामाजिक सापटी र विषेश सापटी प्रदान गर्न थालेको छ ।

कोषले योगदानकर्ता घर सापटी अन्तर्गत नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्नका लागि सापटी दिने भएको हो । कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका योगदानकर्ता यस्तो खालको सापटी लिनको लागि योग्य हुनेछन् ।

घर सापटीको स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता ६० उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ सोही बराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । योगदानकर्ताले सापटी स्वीकृत भएको दुई वर्ष भित्रमा स्वीकृत भएको सम्पुर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा घर सापटीको अवधिकतम सीमा कायम गरिनेछ ।

पति र पत्नी दुबैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुई जनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुबै जनाको तलवमानको आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ ।

यसरी अलग–अलग सापटी प्रदान गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकम भन्दा बढी प्रदान नगर्ने सापटी निर्देशिकामा उल्लेख गरिएको छ ।

घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिएको छ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिस गरेको प्रगति विवरणको आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ ।

घर सापटी प्रदान नगरिने शर्त पूरा नभएका वा शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रुपमा चुक्त नगर्ने योगदानकर्तालाई घर सापटी प्रदान गरिँदैन । घर मर्मत सापटी लिएका योगदानकर्ताले सो सापटी चुक्ता गरि सकेपछि मात्र निजलाई थप घर सापटी प्रदान गरिनेछ । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी सहुलियत अवधि सहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको ६ वर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ ।

पुनः घर सापटी प्रदान गर्न सकिने योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुनः घर सापटी दिईनेछ । पुनः सापटी प्रदान गर्दानिर्देशिका बमोजिमको सबै प्रक्रिया पुरा गर्नुपर्नेछ । तर, साबिकमा लिएको घर सापटीको धितो फुकुवा भै सकेको रहेनछ भने सोही धितोको दृष्टिबन्धक रजिष्ट्रेशन कायम गरी सोको मूल्याङ्कनले खामेसम्मको रकम गरी पुनः घर सापटी प्रदान गर्न सकिने कोषले जनाएको छ ।

३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी पाइने

कोषमा आबद्ध भएको योगदानकर्ताले ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी समेत पाउनेछन् । योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि कोष यस्तो खालको शैक्षिक सापटी प्रदान गर्न कोषले जनाएको छ ।
शैक्षिक सापटी स्वीकृत गर्दा धितोमूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च, (सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, सम्बन्धित शिक्षण संस्थाको होस्टेल खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामाग्री खर्च र ट्राभल तथा बीमा खर्च जोडिने) बराबरको सापटी प्रदान गरिनेछ ।

शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजकोे पति वा पत्नी, छोरा, छोरीमध्ये बढीमा दुई जनासम्मलाई धितो मूल्याङ्कनले खाम्ने यस्तो खालको कर्जा दिईने कोषले जनाएको छ । योगदानकर्ताले सापटी स्वीकृत भएको दुई वर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा शैक्षिक सापटीको अधिकतम सीमा कायम गरिनेछ ।

शैक्षिक सापटी प्रदान गर्न योगदानकर्ताको माग बमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ । योगदानर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । यसरी पुन: सापटी प्रदान गर्दा निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । शैक्षिक सापटीको पहिलो किस्ता लिएको अबढीमा १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ ।

सामाजिक कार्य सापटी

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले आफु वा एकाघर सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि कोषबाट साामाजिक कार्य सापटी लिन सक्नेछन् । योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने कोषले जनाएको छ ।

त्यस्तै कोषले योगदानकर्ताको लागि विशेष सापटी योजनामा पनि सञ्चालनमा ल्याएको छ । योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुनः विशेष सापटी लिन सक्नेछन् । तर, साविकमा लिएको सापटी चुक्ता गरेमा जुनसुकै समयमा पुन: विशेष सापटी प्रदान गर्न सकिने कोषले जनाएको छ । विशेष सापटी योगदानकर्ताले मासिक तलबबाट कट्टा गरी वा कोषले तोकेको बैङ्क खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।