रेटिङ एजेन्सीहरुमा रेटिङ गराएका कम्पनीहको बाध्यकारी वीथड्रल बढेको छ । कम्पनीहरुले आवश्यकता परेको बेला रेटिङ गराउने र त्यसलाइ निरन्तरता नदिने वा पुन पुष्टि नगरेपछि एजेन्सीहरुले बाध्य भएर वीथड्रल गराइदिने क्रम बढेको हो।
पछिल्लो समयमा वीथड्रलको समस्या कर्जाका लागि रेटिङ गराउने कम्पनीहरुको धेरै छ । नेपाल राष्ट्र बैंकले ५० करोडसम्मको कर्जाका लागि अनिवार्य रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । सो अनुसार व्यक्ति तथा संस्थाले कर्जा लिनका लागि रेटिङ गराउने तर त्यसको नियमसंग प्रक्रिया पुर्याएर वीथड्रल नगर्ने क्रम बढेको छ । एक पटक लिएको रेटिङको अवधि ६ महिनाको हुन्छ । उक्त समय अवधि समाप्त भएपछि पुन पुष्टि गर्नुपर्ने हुन्छ ।
रेटिङ गराउने कम्पनीहरुले आवश्यक विवरण दिनुपर्ने वा आय व्ययको जानकारी बाहिर आउने भएपछि कर्जा लिनका लागि मात्र रेटिङ गर्ने अभ्यास छ । त्यसपछि कम्पनीहरुले उक्त रेटिङलाई महत्व नदिएको देखिन्छ ।
रेटिङ गराउँदा कम्पनीहरुको वास्तविक वित्तीय अवस्था बाहिर आउने गरेको छ । त्यसलाई लुकाउन पनि निरन्तरता नदिने गरेका हुन । कर्जाको आवश्यकता बढेको समयमा बाध्य भएर कर्जा लिन कै लागि कम्पनीहरुले रेटिङ गर्ने र रेटिङ पाइसकेपछि त्यसलाई निरन्तरता दिन नचाहदा रेटिङ वीथड्रल हुने एजेन्सीहरुले जनाएका छन् ।
रेटिङले कम्पनीको पारदर्शीता बढाउनुका साथै कर्जा दिने वित्तीय तथा गैर वित्तीय संस्थाहरुमा विश्वास पनि बढाएको छ । तर, कम्पनीहरुले निरन्तर रुपमा त्यस्ता सूचना दिएर रेटिङलाई निरन्तरता दिन नचाहेको वीथड्रलले स्पष्ट हुन्छ ।
रेटिङ पुनपुष्टिका लागि रेटिङ एजेन्सीहरुले सम्पर्क गर्न खोज्दा समेत कम्पनीहरु सम्पर्कमा नआउने र आवश्यक वित्तीय विवरण प्रदान नगर्ने गरेको एजेन्सीहरुले सार्वजनिक गरेको विवरणमै उल्लेख गर्ने गरेका छन् । सम्पर्कमा नआउने कम्पनीहरुलाई ६ महिनाका लागि वीथड्रल सूचीमा राख्ने र सो अवधि भरमा पनि कम्पनीहरुबाट कुनै सहकार्य नभएको खन्डमा रेटिङ वीथड्रल गराउने प्रावधान छ । 
सन् २०१२ मा इजाजत लिई रेटिङ कार्य सुरु गरेको इक्राले हालसम्म ३० कम्पनीको रेटिङ वीथड्रल गरेको छ । रेटिङ वीथड्रल गर्नुको कारणमा रेटिङका लागि आवेदन दिने कम्पनीहरुले सहकार्य नगरेको जनाइएको छ ।
यसैगरी सन् २०१७ बाट सञ्चालनमा आएको केयर रेटिङ्स नेपालले हालसम्म ६ वटा कम्पनीहरुको रेटिङ वीथड्रल गरेको छ । केयर रेटिङ एजेन्सीले रेटिङ वीथड्रल गर्नुको कारण पनि कम्पनीहरुले आवश्यक जानकारी नदिनु र सम्पर्कमा नआउनु नै रहेको छ ।
सन् २०२२ मा इजाजत लिई सञ्चालनमा आएको इन्फोमेरिकस नेपालले हालसम्म कुनै कम्पनीको रेटिङ वीथड्रल गरेको छैन ।
पछिल्लो समयमा रेटिङ वीथड्रल हुनुको कारण कम्पनीहरुबाट हुनुपर्ने सहकार्य नहुने देखिएता पनि कम्पनीहरुले प्रक्रिया पु¥याएर नै रेटिङ वीथड्रल गर्न मिल्ने प्रावधान समेत रहेको छ । कुनै पनि कम्पनीले कर्जा रेटिङ गर्दाको समयको सम्पूर्ण ऋण भुक्तानी गरेको खन्डमा रेटिङ वीथड्रल हुने एजेन्सीहरुको वीथड्रल कार्यविधिमा समावेश छ ।
त्यसैगरी कुनै कम्पनीले रेटिङ संस्थालाई लिखित रुपमा रेटिङ प्रक्रिया अघि नबढाउने सूचना दिएको हकमा पनि रेटिङ वीथड्रल हुने छ । यस बाहेक कर्जा लिनका लागि रेटिङ गरेका कम्पनीहरु मर्जरमा गई कम्पनीको सेयर अरु कुनै कम्पनीले अधिग्रहण गर्छ भने कानुनी प्रक्रिया अनुसार रेटिङ एजेन्सी इक्राले रेटिङ वीथड्रल गर्ने गरेको छ ।
कुनै पनि कम्पनीले सेयरधनीहरुको सहमतिमा कम्पनीको संरचना परिवर्तन गरेको छ भने त्यस्तो अवस्थामा पनि इक्रा नेपालले आवश्यक अध्ययन गरी रेटिङ वीथड्रल गर्छ । त्यसपछि नयाँ संरचना अनुरुप रेटिङ गर्ने प्रावधान रहेको छ ।
नेपाल धीतोपत्र बोर्डबाट क्रेडिट रेटिङको लागि इजाजतपत्र लिई तीन रेटिङ एजेन्सीहरु–इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिकस नेपाल सञ्चालनमा रहेका छन् । यी क्रेडिट रेटिङ एजेन्सीहरुले कर्पोरेट क्रेडिट, कर्पोरेट डिबेञ्चर, आइपीओ तथा हकप्रद ग्रेडिङ, संस्थागत, व्यक्तिगत, कोष व्यवस्थापनको गुणस्तर रेटिङ लगायतका रेटिङ गर्दै आएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया