अटोमोवाइल व्यवसाय तहस नहस हुने अवस्थामा पुग्योः नाडा

0
Shares

नाडा अटोमोबाइल एसोसिएशन अफ नेपालले सरकारले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एक पछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु लागू गर्दा अटोमोवाइल व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको बताएको छ ।

नाडाले शुक्रबार पत्रकार सम्मेलन मार्फत सयौं अटोमोवाइल शो रुमहरु बन्द भईसकेका छन् भने थप अन्य शो रुमहरु समेत बन्द हुने क्रममा रहेको जनाएको हो ।

पत्रकार सम्मेलनमा नाडा अध्यक्ष ध्रुव थापाले आयात प्रतिबन्ध, चालु पूँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धि, राष्ट्र बैंकले लगाएको कर्जा सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेको बताए ।

गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित भएको बताउँदै संघका अध्यक्ष थापाले हजारौं कर्मचारीहरु समेत बेरोजगार बन्न पुगेको बताए । शुक्रबार पहिलो चरणको सप्ताहब्यापी संघर्षको कार्यक्रम घोषणा गरिएकोमा व्यवसायीको माग सरकारले सुनुवाइ नगरे आन्दोलनको अर्को चरणमा जाने संघ बाध्य हुने थापाले बताए ।

सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरूको आयातमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, अन्य सवारीसाधन आयातमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्मको नगद मार्जिन राखिएको छ । सरकारले अटोमोबाइल क्षेत्रलाई विलासी वस्तुहरुमा वर्गिकरण गर्दै उच्च महशुल संकलन गर्ने गरेको तथा व्यवसायलाई नै निरुत्साहित गर्ने उद्धेश्यले क्रमबद्ध रुपमा विभिन्न नीतिगत अवरोधहरु तेस्र्याउने गरेको भन्दै नाडाले असन्तुष्टी व्यक्त गरेको छ ।

सरकारले आयात प्रतिबन्धका साथसाथै अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरु लागू गरेको नाडाले जनाएको छ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जामा लागू गरेको ५० प्रतिशतको सीमा, जोखिम भारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरी लगायत विभिन्न नीति नियमहरुमा गरिएको कडाईका कारण अटोमोवाइल व्यवसायीहरु पूर्णतः धरासायी हुने अवस्थामा पुगेको एसोसिएशनले जनाएको छ ।

औपचारिक र अनौपचारिक माध्यमहरुबाट सम्बद्ध मन्त्रालयहरु र नेपाल राष्ट्र बैंकसँग अनुरोध गर्दै आए पनि कुनै सुनवाई नभएको भन्दै नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गर्न नाडाले १० बुँदे माग समेत राखेको छ ।

यस्ता छन् नाडा हाम्रा माग र सुझावहरु:-

१. विगत ८ महिना देखि निजी प्रयोजनका कार, जीप भ्यान तथा १५० सि.सि माथिका दुई पाँग्रे सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध तत्काल खोल्नुपर्ने ।

२. नेपाल राष्ट्र बैंकद्धारा जारी चालु पूँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्दै अनुकुल समयमा आवश्यक परिमार्जन सहित व्यवसायीहरुको सल्लाहमा लागु गरिनुपर्ने ।

३. शतप्रतिशत नगद मार्जिन र पचास प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नु पर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने ।

४. नेपालको वित्तीय निकायहरुले २०७९ साल कार्तिक १ गते देखि लागू हुनेगरी कर्जा प्रवाहमा व्याज बढाउने निर्णय गरेको छ । यसले नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र उद्योग व्यवसायनै गम्भिर रुपले प्रभावित भएको कारण व्यवसायीहरुले व्याज नै तिर्न नसक्ने अवस्था आउने देखिएको छ । हालकोे व्याज तथा प्रिमियम दर लाई तत्कालै नियन्त्रणमा राख्नको लागि आवश्यक व्यवस्था गर्नुपर्ने ।

५.अटोलोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने ।
६. बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पूनरावलोकन गर्नुपर्ने ।

७. बैंकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीवृmत भए पश्चात जारी गरिन डेलिभरी अर्डर बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने ।

८. त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टू भ्यालु रेसियो’ को हालको सीमा पचास प्रतिशतबाट वृद्धि गरी ७० प्रतिशत कायम गर्नुपर्ने ।

९. पुनरकर्जा नविकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने ।

१०. कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पूनरतालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने ।

नेपालको अटोमोवाइल क्षेत्रले सरकारको राजस्वमा २१ प्रतिशत योगदान गर्दै प्रत्यक्ष १ लाख र अप्रत्यक्ष रुपमा झण्डै १० लाख जनालाई रोजगारी प्रदान गरेको छ । यस्तै नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जिवन बीमाको कुल राजश्वमा ५० प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले योगदान पुर्‍याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।