विकास बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई दोहोरो अंक (डबल डिजिट) अर्थात १० प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
कतिपय वाणिज्य बैंकहरुले एकल अंकमा लाभांश वितरण गरिरहँदा विकास बैंकहरुले भने आफ्ना लगानीकर्ताहरुलाई दोहोरो अंकमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म १३ वाणिज्य बैंकले लाभांश प्रस्ताव भएकोमा ४ वाणिज्य बैंकले एक अंकमा लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सिटिजन्स इन्टरनेशनल, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले एक अंकमा लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
सञ्चालनमा रहेका १६ वटा विकास बैंकहरुमध्ये हालसम्म ४ वटाले बैंकले लाभांश घोषणा गर्दा सबै बैंकले सेयरधनीलाई १० प्रतिशतभन्दा धेरै लाभांश दिएका छन् । सर्वाधिक लाभांश घोषणा गरेको गरिमा विकास बैंकले साढे चौध प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्दा लुम्बिनी विकास बैंकको सबैभन्दा कम रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । अब एक दर्जन विकास बैंकहरुको लाभांश घोषणा गर्न बाँकी रहेको छ ।
गरिमा विकास बैंकले सबैभन्दा धेरै चुक्ता पुँजीको १३ प्रतिशत बोनस र कर प्रयोजनका लागि सहित १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
मितेरी डेभलपमेन्ट बैंकको चुक्ता पुँजीको १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद छ । यस्तै घोषित लाभांशमध्ये लुम्बिनी विकास बैंकले सबैभन्दा कम चुक्ता पुँजीको ३ प्रतिशत बोनस र कर प्रयोजनका लागि सहित ९ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव गरेका गरेका कुनैपनि बैंकले बुकक्लोज मिति तोकेका छैनन् । त्यसकारण चारवटै विकास बैंकले प्रस्ताव गरेका लाभांश सेयर खरिद गर्ने लगानीकर्ताले पाउनेछन् ।
कुन–कुनको आउन बाँकी छ लाभांश ?
विकास बैंकहरुमध्ये अझै पनि एक दर्जनको लाभांश घोषणा हुन बाँकी रहेको छ । हालसम्म ४ वटा विकास बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् ।
लाभांश घोषणा हुन बाँकी बैंकहरुमा मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया