सन् २०२२ को फेब्रुअरी महिनाबाट सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले यो वर्ष ३ करोड बढी आम्दानी गरेको छ ।
केवलकारले संचालनमा आएको पहिलो पाँच महिनामा टिकट बिक्रीबाट २ करोड ९० लाख रुपैयाँ तथा २० लाख रुपैयाँ भाडाबाट संकलन गरेको हो ।
पोखराको सेती बगर देखि सराङ्कोट डाडासम्मको दूरीमा केवलकार संचालन गर्दै आएको छ । नेपालको पर्यटकीय सहर पोखरामा सञ्चालनमा रहेको केवलकार आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणमा रहेको छ । सञ्चालनको समय यता ९० हजार १६३ जना मानिसहरुले केबलकारको प्रयोग गरेका छन् । जसमध्ये २० हजार ७७६ अन्तराष्ट्रिय पर्यटकहरु रहेका छन् ।
कम्पनीले २.३ किलोमिटर दूरीमा केवलकार सञ्चालन गरेको छ । कुल १७ वटा गोन्डोला मार्फत दु्रत गतिको सेवा कम्पनीले प्रदान गर्दै आएको छ । सन् २०१० मा केवलकार सेवाको विस्तार गर्ने उद्देश्यका साथ निर्माण भएको अन्नपूर्ण केवलकारले १ अर्ब ९७ करोड ३० लाखको लगानीमा निर्माण कार्य सम्पन्न गरी सेवा सुचारु गरेको हो । कम्पनीको १ अर्ब ७ करोड ३० लाख रकम ऋण रहेको छ भने बाँकी ९० करोड लगानीकर्ताहरुको सेयर रहेको छ ।
कोभिड–१९ का कारण निर्माण सामाग्रीको मूल्यमा भएको वृद्धि तथा जग्गा अधिग्रहणका क्रममा जग्गाको मूल्य बढ्दै जानु, केवलकारको सङ्ख्यामा भएको वृद्धिले परियोजना निर्माणका क्रममा लागत परियोजना सम्पन्न हुँदा सम्म १२० प्रतिशतले बढ्न पुगेको थियो ।
परियोजनाको सुरुवातमा ८९ करोड ६० लाखको लागत रकम अनुमान गरिएको थियो जुन पछि १ अर्ब ९७ करोड पुगेको थियो । कम्पनीले परियोजना कार्य तोकेको समयमा सम्पन्न गर्न नसक्दा पनि चर्को ब्याजदरको सामना गर्नु परेको छ।

यसैगरी नेपालमा पर्यटकको आगमनमा आएको कमीले पनि कम्पनीले अपेक्षित आम्दानी गर्न सकेको छैन । नेपालमा पर्यटकको सङ्ख्यामा आएको कमी र अरु जिल्लाहरुमा विदेशी पर्यटकको रुचि बढ्दै गएका कारण परियोजनाको स्थिरीकरण मै प्रश्न उठेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउदै जानु, पर्यटकहरुको आगमन वर्षभरीका पाँच महिनामा मात्रै हुनुले केवलकारको निरन्तर सञ्चालनमा अवरोध पुग्ने देखिन्छ ।
तथापि नेपाल सरकारले पर्यटन प्रवद्र्धन विशेष प्राथमिकतामा राखेको छ । यसैगरी अन्नपूर्ण केवलकार अन्नपूर्ण संरक्षित क्षेत्र वरपर टेक्रिङ गर्न चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि गेटवे रहेको छ । पोखरा पर्यटकीय महत्व दर्शाउने सहरका रुपमा स्थापित भएका कारण पोखरामा घुमघाम गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको कमी छैन । पोखरामा रहेका साहसिक पर्यटन, प्राकृतिक सम्पदा, धार्मिक सम्पदाहरुले पनि पर्यटक आकर्षण गरिरहेका छन् ।
पोखरामा निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलले पनि पर्यटकहरुको आगमन बढाउने छ । रियल स्टेट तथा रोडसो क्षेत्रमा २५ वर्ष लामो अनुभव बटुलेका कालु गुरुङ कम्पनीका अध्यक्ष रहेका छन् ।
केयर रेटिङ नेपालले कम्पनीलाई १ अर्ब ७ करोड ६२ लाख दीर्घकालीन तथा २ करोड अल्पकालीन कर्जाका लागि बी प्लस र ए४ रेटिङ गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया