हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेण्ट नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने भएको छ ।
संस्थापक सेयरधनी हिमालयन क्यापिटल मार्केट्सले आफ्नो नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेसँगै बैंकले विद्यमान संस्थापक सेयरधनीले आवेदन गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो । आम सर्वसाधारणहरुले भने यो पटक खुला भएको सेयरमा आवेदन दिन पाउनेछैनन् ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले मंगलबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंक नबिलमा बिलय भएपछि इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक) ले मंसिर १५ गते १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गरेर नबिलबाट बाहिरिने निर्णय गरेको थियो । बैंकको सो निर्णयपछि अन्य संस्थापकहरू पनि सेयर बिक्री गरेर बैंकबाट बाहिरिने क्रम देखिएको छ ।
बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि मंसिरमा मात्रै बैंकले तीन पटक संस्थापक सेयर बिक्रीको सूचना निकालिसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया