राठी ग्रुपको अन्नपूर्ण केबलको आम्दानी ३२% ले बढ्यो, वर्षमा साढे २ अर्बको कारोबार

0
Shares

राठी ग्रुपको संलग्नता रहेको अन्नपूर्ण केवल उद्योगले सन् २०२२ मा २ अर्ब ५४ करोड ९० लाख (अपरिष्कृत) आम्दानी गरेको छ । सन् २०२१ मा १ अर्ब ९२ करोड ५० लाख (लेखा परीक्षण) रहेको उद्योगको आम्दानी सन् २०२२ मा ३२ प्रतिशतले बढेर साढे २ अर्ब पुगेको हो।

उद्योगको सञ्चालन आम्दानीमा वृद्धि भएसँगै उद्योगका अन्य वित्तीय सूचांकहरु बलियो देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज, कर र भाडा अघिको नाफा सञ्चालन आम्दानीको ७.२४ प्रतिशत रहेको छ । सेयरधनीहरुको सेयर र उद्योगको कर्जाको अनुपात (गियरिङ रेसियो) ३.४३ रहेको छ । यसैगरी कर्जाको ब्याज चुक्ता गर्न सक्ने क्षमता४.९ गुणा रहेको छ।

उद्योग चालु पुँजी कर्जामा बढी निर्भर रहँदै आएको छ । उद्योग वर्षभरमा ९७ दिन मात्रै सञ्चालनमा आउने गरेको छ । उद्योगलाई वर्षभर सञ्चालनमा ल्याउन इन्भेन्टोरीमा कच्चा पदार्थको पहुँच हुनुपर्ने र कच्चा पदार्थ खरिदका लागि उद्योगले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदै आएको छ।

कच्चा पदार्थको मूल्यले मात्रै उत्पादन लागतको ८५ प्रतिशत ओगटेको छ । अतः उद्योग सञ्चालन कर्जामा निर्भर हुनु, केवलमा प्रयोग हुने आल्मुनियम, तामा, स्टील जस्ता धातुहरुको मूल्य आकाशिनु र अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर हुनु लगायतका चुनौतीहरु उद्योगले सामना गर्दै आएको छ।

यसका साथै बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको समस्या देखिनु, ब्याजदर प्रत्येक त्रैमासमा बढ्दै जानु र बजारमा केवलहरु उत्पादन गर्ने कम्पनीहरु बीच प्रतिस्पर्धा बढ्दै जानुले पनि उद्योगलाई अपेक्षाकृत आम्दानी गर्नबाट पछि सारेको छ।

तथापि राठी ग्रुप प्रमोटर रहेको अन्नपूर्ण केवल उद्योगलाई राठी ग्रुपको बलियो साथ र सहयोग रहेको छ । वायर उत्पादन व्यवसायमा २५ वर्ष लामो अनुभव बटुलेका श्याम राठी र जितेन्द्र कुमार राठीले उद्योगको व्यवस्थापन सम्हालेका छन्।

अन्नपूर्ण केवल उद्योगले घर, व्यवसायिक भवन, हस्पिटल, उद्योगहरुमा प्रयोग हुने विभिन्न किसिमका उच्च भोल्टेजका वायरहरुको उत्पादन गर्दै आएको छ।

नेपालमा पूर्वाधार विकासका कामहरु तीव्र गतिमा चलिरहेको हुँदा आगामी समयमा उद्योगले राम्रो आम्दानी गर्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरणले नै ट्रान्समीसन लाइन विस्तारका क्रममा आवश्यक पर्ने सामाग्रीहरुको टेन्डर अन्नपूर्ण केबललाई दिदै आएको छ । नेपाल सरकारले पर्यटन प्रर्वद्धनका लागि विभिन्न निर्माण परियोजनाहरु अघि सारेको छ, जसकारण पनि आगामी समयमा अन्नपूर्ण केबल उद्योगको आम्दानी बढ्ने देखिन्छ।

सन् २०२१ मा स्थापना भएको उद्योगले राठी र अन्नपूर्ण ब्रान्डबाट वायरहरुको उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

उद्योगले २ अर्ब ५६ करोड दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर नोपलबाट रेटिङ गराएको छ । केयर नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।