सरकारको बजेट खर्च र राजश्व संकलन निराशजनक

0
Shares

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च र राजश्व संकलन दुवै निराशजनक देखिएको छ ।

सरकारले चालु आवको ५ महिना सकिँदासम्म कुल बजेटको २४.२६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ भने यसअवधिमा लक्ष्यको २४.५३ प्रतिशत प्राप्ति गरेको छ ।

सरकारको साउनदेखि मंसिर महिनासम्ममा बजेट खर्चको अवस्था हेर्दा सरकारी प्रयास कमजोर देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल १७ खर्ब ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको सरकारले मंसिर मसान्तसम्म ४ खर्ब ३५ अर्ब २१ करोड अर्थात २४.२६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा चालुतर्फ ३ खर्ब ५४ अर्ब २५ करोड बजेट खर्च भएको छ। जुन चालुतर्फ विनीयोजित बजेटको २९.९४ प्रतिशत हो । सरकारले चालु आवका लागि ११ खर्ब ८३ अर्ब २३ करोड चालु खर्चका लागि बजेट व्यवस्था गरेको छ ।

पाँच महिना पूरा हुँदासम्म सरकारले गरेको पुँजीगत खर्च निकै कमजोर छ । पुँजीगत खर्च ३३ अर्ब ९९ करोड रुपैयाँ मात्रै भएको छ । जुन कुल पुँजीगत बजेटको ८.९४ प्रतिशत मात्र हो । चालू वर्षमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड बराबरको विकास बजेट ल्याएको थियो।

यो अवधिमा सरकारले वित्तीय व्यवस्था अन्तर्गत सरकारी संस्थानमा ऋण तथा विभिन्न दातृ निकायहरुलाई ब्याज तथा साँवा भुक्तानीअन्तर्गत जम्मा ४६ अर्ब ९६ करोड खर्च गरेको छ। जुन कुल बजेटको २० प्रतिशत हो ।

चालु आवको पहिलो ५ महिना अर्थात मंसिर मसान्तसम्ममा सरकारको कुल प्राप्ति ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । यस अवधिमा सरकारले ३ खर्ब १ अर्ब ४६ करोड राजस्व तथा ३ अर्ब ४१ करोड वैदेशिक अनुदान मार्फत प्राप्ति गरेको हो । यसबाहेक अन्य प्राप्ति शीर्षकमा सरकारले २७ अर्ब ५२ करोड प्राप्त गरेको छ।

सरकारले मंसिरसम्म ३ खर्ब १ अर्ब ४६ करोड कर राजस्व तथा २५ अर्ब ४२ करोड गैरकर राजस्व संकलन गरेको छ । ५ महिनाको अवधिमा वार्षिक लक्ष्यको २३.२७ प्रतिशत राजश्व संकलन भएको छ भने वैदेशिक अनुदान वार्षिक लक्ष्यको ६.१६ प्रतिशत प्राप्त भएको महालेखाले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ पुस २०७९, शुक्रबार  ११ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।